नेकपा सचिवालय बैठक आगामी २० गतेसम्मका लागि स्थगित

नेकपा सचिवालय बैठक आगामी २० गतेसम्मका लागि स्थगित

काठमाडौँ ,१७ मंसिर ।सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठक आगामी २० गतेसम्मका लागि स्थगित भएको छ ।

बुधबार बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली सहभागी नभएपछि बैठक स्थगित गरिएको हो । अर्को बैठक मंसिर २० गते १ बजे बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

बुधबारको बैठकमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रस्ताव र त्यसको प्रतिउत्तरमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले प्रस्तुत गरेको प्रस्तावमाथिको छलफल जारी रहने बताइएको थियो ।

ओली अनुपस्थीत नभएपछि अन्य सचिवालय सदस्यहरु केहिबेर बैठकमा बसेका थिए । बैठकले अर्को बैठकमा अनिर्वाय उपस्थीत हुन अध्यक्ष ओलीलाई भनिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । त्यस्तै बिहीबारका लागि तय नेकपा स्थायी कमिटी बैठक मंसिर २१ गतेका लागि सारिएको उहाले जानकारी दिनुभयो ।

यसअघि मंगलबारको बैठकमा ओलीले १० दिन सचिवालय बैठक रोक्न माग गर्नुभएको थियो । तर, बहुमत सचिवालय सदस्यहरूले बैठक रोक्न नहुने र प्रचण्डको प्रस्तावमाथि छलफल गर्नुपर्ने अडान लिएका थिए । नेकपाभित्र विवाद उत्कर्षमा पुगेपछि सचिवालयमा अध्यक्षद्वयले आरोप प्रत्यारोपसहित प्रस्तावहरु पेश गर्नुभएको छ ।