नेकपा सचिवालय बैठक बस्दै, दुवै पक्ष छुट्टा-छुट्टै रणनीतिमा प्रस्तुत हुने तयारी

नेकपा सचिवालय बैठक बस्दै, दुवै पक्ष छुट्टा-छुट्टै रणनीतिमा प्रस्तुत हुने तयारी

काठमाडौं, १६ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । पार्टी कार्यालय धुम्बाराहीमा आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षले छुट्टा–छुट्टै रणनीति बनाएर प्रस्तुत हुने तयारी गरेका छन् ।

आजको बैठकमा नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डसहित सचिवालयका बहुमत नेताहरुले प्रधानमन्त्री एवं अध्यक्ष ओलीले उठाएका प्रश्नहरुको सयुंक्त रुपमा लिखित जवाफ दिने तयारी गरेका छन् । अध्यक्ष ओलीले प्रचण्डलाई मात्रै व्यक्तिगत रुपमा लक्षित गरेर प्रश्नहरुको जवाफ दिनुको साथै केही विगतका प्रसंग कोट्याएपछि सचिवालयका पाँचैजना नेताहरुले संयुक्त जवाफ तयार पारेको बताइएको छ ।

प्रचण्डले कात्तिक २८ गतेको सचिवालय बैठकमा ओलीलाई विभिन्न विषयमा प्रश्न उठाउँदै १९ पृष्ठको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यसको दश दिनपछि मंसिर १३ गते बसेको सचिवालय बैठकमा ओलीले ३८ पृष्ठको जवाफी प्रतिवेदन पेस गर्नुभएको थियो ।