स्कटल्यान्ड विरुद्ध नेपाल ४ विकेटले पराजित: अब सुपर सिक्स यात्रा के हाेला ?

स्कटल्यान्ड विरुद्ध नेपाल ४ विकेटले पराजित: अब सुपर सिक्स यात्रा के हाेला ?

काठमाडौं । आइसीसी विश्वकप छनोट प्रतियोगितामा नेपाल दोस्रो खेलमा पनि लगातार पराजित भएको छ । आजको खेलमा नेपाल स्कटल्यान्डविरुद्ध ४ विकेटले पराजित भएको छ ।

स्कटल्यान्डको जितमा ओपनर तथा कप्तान कायल कोट्जरले १ सय ३६ बलमा ८८ रनको समझदारीपूर्ण ब्याटिङ गरे । लयमा रहेका क्यालम मिक्लोयड आज १५ रनमै आउट भए भने मध्यक्रमका क्रेग वालेसले १७ रनको पारी खेलेका थिए । नेपालका लागि बलिङ तर्फ सन्दिप लामिछाने र वसन्त रेग्मीले दुई दुई विकेट लिए । नेपालको बलिङ पहिलो खेलमा भन्दा सुधारिएको देखिए पनि लक्ष्य कम भएको कारण स्कटल्यान्डले ६ विकेटको क्षतिमा ५१ बल हुँदै १ सय ५० रनको लक्ष्य पुरा गर्‍यो ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ४७ ओभर ४ बलमा अलआउट हुँदै १ सय ४९ रन जोडेको थियो । नेपालको ब्याटिङ आज निकै फितलो देखियो । नेपालका शीर्षक्रमका ब्याट्सम्यानमध्ये कप्तान पारस खड्का मात्र क्रिजमा टिक्न सके । ७५ बलमा ९ चौकाको मद्दतले पारसले ६३ रन जोडेका थिए । ओपनरद्वय ज्ञानेन्द्र मल्ल र दिलिप नाथ तेस्रो ओभरभित्रै पभेलियन फर्केका थिए । ज्ञानेन्द्रले १ रन बनाए भने दिलिपले ४ रन जोडेका थिए । त्यस्तै दिपेन्द्र ऐरी १ रन, शरद भेषावकर शुन्य र आरिफ शेख २ रन बनाएर आउट भए ।

सोमपाल कामीले १८ रन, सन्दिप लामिछानेले ६ रन र रोहित पौडेलले १५ रन जोड्दै नेपालको पारीलाई केही राहत दिएका थिए । अन्त्यमा वसन्त रेग्मीले महत्त्वपूर्ण २२ रन जोड्दै स्कटल्यान्डलाई १ सय ५० को लक्ष्य दिन सहयोग दिएका थिए ।