नयाँ मन्त्रालयका संगठन संरचना पुरानै शैलीका बनाइँदै

नयाँ मन्त्रालयका संगठन संरचना पुरानै शैलीका बनाइँदै

संघीय सरकारमा १८ मन्त्रालय गठन गरिए पनि नयाँ मन्त्रालयका संरचना भने पहिलेकै जस्ता अस्तव्यस्त हुने गरी प्रस्ताव गरिएका छन् । विगतमा सिंहदरबारबाट सम्पादन हुने अधिकांश काम र अधिकार प्रदेश र स्थानीय तहमा स्थानान्तरण भए पनि नयाँ मन्त्रालयमा उस्तै प्रकृतिका महाशाखा प्रस्ताव गरिएका छन् । प्रस्तावमाथि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अध्ययन भइरहेको छ । मन्त्रिपरिषद्को कार्यालयले ६–६ वटा मन्त्रालयलाई एक ठाउँमा राखेर ती मन्त्रालयले प्रस्ताव गरेका संगठन संरचनाको छलफल र अध्ययन गरिरहेको छ ।

नयाँ मन्त्रालयको संगठन संरचनामा ३१ मन्त्रालय हुँदा रहेका करिब सबै महाशाखालाई जस्ताको तस्तै राख्ने गरी छलफल भएको प्रधानमन्त्री कार्यालयका एक सचिवले बताए । उनका अनुसार गाभिएका मन्त्रालयको आन्तरिक प्रशासन महाशाखा, लेखा शाखा, योजना महाशाखा, अनुगमन महाशाखाबाहेकका महाशाखालाई जस्ताको तस्तै राख्ने तयारी भइरहेको छ । ‘गाभिएका साबिकका मन्त्रालयका सचिवहरू अर्को व्यवस्था नहुँदासम्म त्यही मन्त्रालयमा महाशाखा बाँडेर रहने भएका छन्,’ ती सचिवले भने, ‘त्यही आधारमा साबिकका मन्त्रालयका सचिवले आफूअन्तर्गत धेरै महाशाखा र शाखा रहोस् भन्ने चाहनासहित संगठन संरचनाको प्रस्ताव ल्याएका छन् ।’

नयाँ मन्त्रालयको संगठन संरचनाका प्रस्ताव मन्त्रालयलाई चुस्त र प्रभावकारी बनाउने गरी भन्दा पनि सिंहदरबारका सचिव र सहसचिवलाई त्यहीँ अटाउने लक्ष्यसाथ भएको उनले बताए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता डिल्लीराम शर्माले मन्त्रालयको अस्थायी संगठन व्यवस्थापन सर्वेक्षणको अध्ययन भइरहेको बताए । उनले अध्ययनकै क्रममा रहेकाले महाशाखा थपघट हुन सक्ने बताए । उनले भने, ‘प्रस्तावहरूको अध्ययन भइरहेको छ, अझै केही दिन लाग्न सक्छ ।’

सरकारले ऊर्जा र सिँचाइ मन्त्रालयलाई एक–अर्कोमा गाभेर ऊर्जा तथा जलस्रोत मन्त्रालय बनाएको छ । नयाँ बनेको जलस्रोत तथा ऊर्जा मन्त्रालयमा तत्काल दुई सचिवसहित ८ महाशाखा बनाउने प्रस्ताव छ । जब कि तत्कालीन ऊर्जा मन्त्रालयमा चार महाशाखा र सिँचाइ मन्त्रालयमा ३ महाशाखा थिए । तर, अहिले भने थप एक महाशाखा वृद्धि गरेर नयाँ मन्त्रालयमा २ सचिवसहित ८ वटा महाशाखा राख्ने प्रस्ताव गरेको छ । मुख्यसचिव लोकदर्शन रेग्मीको सचिवालय स्रोतका अनुसार ऊर्जा तथा जलस्रोत मन्त्रालयले जस्तै अधिकांश मन्त्रालयले भद्दा संरचना प्रस्ताव गरेका छन् ।

– ‘मन्त्रालयका नामै भद्दा’

गठन भएका नयाँ मन्त्रालयको संगठन संरचना पुरानै शैलीका बनाउने गरी काम भइरहँदा केही सचिवले मन्त्रालयको नाम र संगठन संरचना दुवै भद्दा भएको टिप्पणी गरेका छन् । मन्त्रालयको नाम राख्दा नै अनावश्यक शब्द प्रयोग गरिएको उनीहरूको भनाइ छ । नाम उल्लेख नगर्ने सर्तमा एक सचिवले भने, ‘धेरै काम प्रदेश र स्थानीय तहमा गएकाले हिजोका दुई वा तीनवटासम्म महाशाखालाई एक ठाउँमा गाभ्न सकिन्थ्यो, तर विषयका नाममा फरक–फरक महाशाखा राख्न खोजिएको छ ।’ उनका अनुसार सचिवहरूले महाशाखा प्रस्ताव गर्दा कुन महाशाखा किन राख्नुपर्छ भन्ने तर्क प्रस्तुत गरेका छैनन् ।

प्रदेशको कार्यक्षेत्र राखेर संघको मन्त्रालयमा महाशाखा

मन्त्रालयले यसअघि सम्पादन गर्दै आएको, तर संघीयता कार्यान्वयनसँगै प्रदेश सरकारअन्तर्गत पुगेका अधिकार क्षेत्रका विषयलाई समेत सचिवहरूले संघमा रहने गरी प्रस्ताव गरेका छन् । एकैपटक सबै अधिकार प्रदेशअन्तर्गत दिँदा प्रदेशले धान्दैन कि भन्ने आधारमा केही अधिकार केन्द्रमा राख्न प्रस्ताव गरिएको प्रधानमन्त्री कार्यालयको भनाइ छ । मन्त्रिपरिषद्को कार्यालयले संविधानको अनुसूचीमा रहेको संघ र प्रदेशका अधिकारका साझा सूचीलाई तत्कालका लागि संघको मन्त्रालयअन्तर्गत राखेको बताएको छ । कानुन बनेपछि मात्र प्रदेशमा पठाउन त्यस्तो प्रस्ताव ल्याएको मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

पुष्प ढुंगानाले नयाँ पत्रिका दैनिकमा लेख्नुभएको खबरलाई साभार गरेका छौँ ।