कलाकार मनोज गजुरेलमा कोरोना संक्रमण पुष्टि

कलाकार मनोज गजुरेलमा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १० कार्तिक । कलाकार मनोज गजुरेलमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वास्थ्य परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको गजुरेल आफैंले जानकारी दिएका छन् ।

यसअघि गजुरेलका दाजुलाई पनि संक्रमण देखिएको थियो । उनले दाजुलाई अस्पताल लैजाने-ल्याउने गरेका थिए । गत विहीबारदेखि सामान्य टाउको देख्ने र ज्वरो आउने गरेको थियो । शनिबार ढाडको दुखाइ महसुस भएपछि उनले आइतबार पीसीआर टेष्ट गरेका थिए । सोमबार कोरोना संक्रमण पुष्टि भयो ।

उनले आफूमा गाह्रो हुने खालका लक्षणहरु नदेखिएको र गत विहीबारदेखि नै आइसोलेसनमा रहेको बताएका छन् । ‘मलाई अहिले गाह्रो हुनेखालका सिमटम्स छैनन् तर पनि आफू र अरुको स्वास्थ्यलाई ध्यानमा राखेर गुप्तवासमा रहेको जानकारी गराउन चाहान्छु,’ उनले सामाजिक सन्जालमा लेखेका छन् ।

उनले कोरोना भाइरस हार्ने र आफूले जित्ने उल्लेख गरेका छन् । ‘मलाई बिश्वास छ, मेरो शरीरमा प्रवेश गरेको यो भाइरस मेरो शारिरीक, मानसिक र आध्यात्मिक ऊर्जाभन्दा बलियो पक्कै छैन । त्यसैले मैले यो भाइरसलाई मेरो शक्तिशाली इम्युन सिस्टममा स्वागत गरिसकेको छु,’ गजुरेलले लेखेका छन्, ‘तपाईंहरुको शुभकामनाले त मेरो शरीरको जित र भाइरसको हार झन् चाँडो हुनेछ ।’

गजुरेलले अरुलाई पनि सचेत रहन, पोजेटिभ देखिइहाल्यो भने पनि नआत्तिन र चिकित्सकको सम्पर्कमा रहन सुझाव दिएका छन् । कलाकार गजुरेलले लेखेका छन्, ‘संक्रमणबाट बँच्न सुरक्षाका सम्पुर्ण उपायहरू अपनाउँदा अपनाउँदै पनि यो जुनसुकै बेला जसलाई पनि लाग्न सक्ने रहेछ । आफू सचेत रहन, अरुलाई सुरक्षित रहन तथा ‘पोजिटिभ’ देखिई हालेमा पनि नआत्तिन, विश्वासिलो चिकित्सकको सम्पर्कमा रहन अनुरोध छ ।’