लोकतान्त्रिक गठबन्धन बनाउन सात सदस्यीय कार्यदल गठन

लोकतान्त्रिक गठबन्धन बनाउन सात सदस्यीय कार्यदल गठन

काठमाडौं, १९ असोज । कांग्रेस सहितका ६ दलले निमार्ण गर्ने तयारी गरेको बृहत लोकतान्त्रिक गठबन्धनका लागि गठन गरिएको ७ सदस्यीय कार्यदलको टुङ्गो लागेको छ । मुलुकको समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा छलफल गर्न प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले आज आह्वान गर्नुभएको राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल लोकतान्त्रिक फोरम, राप्रपा (प्रजातान्त्रिक) र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष सम्मिलित बैठकले सो निर्णय गरेको हो ।

चुनावी तालमेलमा सहमती जुटाउन गठन गरिएको कार्यदलमा कांग्रेसबाट बिमलेन्द्र निधी र मिनेन्द्र रिजाल, राजपाबाट सर्वेन्द्रनाथ शुक्ला, संघीय समाजवादी फोरमबाट रामराय यादव, नेपाल लोकतान्त्रिक फोरमबाट गोपाल दहित, राप्रपाबाट बुद्धिमान तामाङ, राप्रपा प्रजातान्त्रिकबाट बिक्रम पाण्डे रहनेछन् । कार्यदलले चुनावी तालमेलको निर्वाचन क्षेत्र अनुसारको चुनावी तालमेलको खाका तयार गर्नेछ । राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङका अनुसार बैठकमा चुनावी तालमेलका लागि न्युनतम शर्त, प्रदेश र केन्द्रिय निर्वाचनमा तालमेलका आधार र संयुक्त घोषणा पत्रको प्रारम्भिक खाकाका बिषयमा छलफल हुनेछ । निर्वाचनको मिति नजिकिदै जादा दुई ठुला वामपन्थी दल एमाले र माओबादी केन्द्रले चुनावी तालमेल गर्दै पार्टी एकता सम्म पुग्ने निर्णय गरेपछि प्रजातान्त्रिक शक्तिबीच समेत वृहत लोकतान्त्रिक गठबन्धन निमार्णको तयारी भएको छ ।