

काठमाडौं । अभिनेत्री बेनिशा हमाल ‘घर’ प्रदर्शन भएको एक वर्षसम्म नयाँ चलचित्र साइन नगर्दा उनलाई चलचित्रबाट अफर हुन छाडेको चर्चा समेत चलेको थियो । तर, उनी लकडाउनमा मात्र आफूलाई आधा दर्जन जति चलचित्रबाट अफर आएको बताउँछिन् । राजधानीमा आयोजित चलचित्र ‘भाँडाकुटी’ को घोषणा कार्यक्रममा उनले लकडाउनमा आफूलाई आधा दर्जन चलचित्रबाट अफर आएको बताइन् ।
‘लकडाउनमा आधा दर्जन स्क्रिप्ट पढिरहेको थिएँ । त्यसबेला ‘भाँडाकुटी’ बाट प्रस्ताव आयो । स्क्रिप्ट र टिम राम्रो लागेपछि काम गर्न राजी भएँ,’ बेनिशा हमालले भनिन् । उनले दुई वर्ष अगाडि नै आफू चलचित्र मेकिङको अध्ययन गर्न मुम्बई गएको तर एउटा चलचित्र गर्नुपर्ने कारणले नेपाल आएको बताइन् । आफैंलाई सेल्फ कन्ट्रोल गर्न चलचित्र मेकिङ पढ्ने निर्णय लिएको उनको भनाई छ ।
बेनिशा अगाडि भन्छिन्, ‘यतिबेला मैले आफूलाई सेल्फ कन्ट्रोल गर्नुपर्छ । यो बेला पनि पढिनँ भने पछि पछुताउनु पर्नेछ भनेर डेढ वर्ष कुनै प्रोजेक्टमा काम गर्दिनँ भनेरै म मुम्बई गएको थिएँ ।’ मुम्बईमा नेपाली साथीहरुले अडिसन दिन आग्रह गर्दा समेत आफूले अध्ययनलाई प्राथमिकता दिएको उनी बताउँछिन् । उनले चलचित्र निर्माण, निर्देशन र लेखनको अध्ययन गरेकी हुन् ।
फाेटाे बेनिशा हमालकाे फेसबुक वालबाट