किन लिएनन् आठ सांसदले शपथ ?

किन लिएनन् आठ सांसदले शपथ ?

काठमाडौँ । प्रतिनिधिसभाका ४ जना सांसद आइतबारको शपथमा अनुपस्थित रहे । संसद सचिवालयका अनुसार २७५ सदस्यीय प्रतिनिधिसभामा शपथमा माओवादी केन्द्रका दुई र राष्ट्रिय जनता पार्टी (राजपा), नेपालका दुई सांसद छन् ।

टीकापुर हत्या प्रकरणका योजनाकार भनिएका कैलाली–१ बाट निर्वाचित रेशम चौधरी थुनामा छन्।

सर्लाही–२ बाट निर्वाचित राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादव पनि अनुपस्थित रहे। प्रतिनिधिसभामा नागरिताका आधारमा ज्येष्ठ सदस्य रहेका यादवले कागजीरुपमा मात्रै ज्येष्ठ सदस्य रहेको स्वीकार गर्दै ‘संसदको मर्यादा राख्न’आफूले ज्येष्ठ सदस्यको शपथ नलिएको बताए। यादवले स्वीकार गरेको भए राष्ट्रपतिबाट शपथ लिएर प्रतिनिधिसभाका सदस्यहरुलाई शपथ खुवाउनु पर्थ्यो। उनले अस्वीकार गरेपछि उनीपछिका ज्येष्ठ सदस्य महन्थ ठाकुरले प्रतिनिधिसभा सदस्यलाई शपथ खुवाएका छन्। त्यसअघि ठाकुरले शीतल निवासमा राष्ट्रपतिबाट शपथ लिएका थिए।

संघीय संसद सचिवालय स्रोतका अनुसार यादवले अब नयाँ सभामुख चयन नभएसम्म शपथ लिन मिल्दैन। फागुन २६ गते नयाँ सभामुख चयन भएपछि मात्रै यादवले शपथ लिनेछन्। तर, उनले सभामुख निर्वाचनमा मत दिन पाउने/नपाउने भन्ने अनिर्णीत छ। ‘मतदाता सूचीमा नाम निकालेर मतमात्रै दिने व्यवस्था मिलाउन सकिन्छ,’ संसद् सचिवालयका एक अधिकारीले भने।

शपथ ग्रहणमा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी र धर्मशीला चापागाईं पनि अनुपस्थित रहे। अर्घाखाँचीबाट निर्वाचित रायमाझीका बुवाको निधनका कारणले अनुपस्थित रहेका हुन् भने माओवादी केन्द्रकै समानुपातिक सांसद चापागाईं आमाको निधनका कारण उपस्थित हुन सकिनन्।

५९ सदस्यीय राष्ट्रिय सभामा ५५ जना सांसदले शपथ लिए। राष्ट्रिय सभामा भने राजपा नेपालका सांसद रमेशप्रसाद यादव अनुपस्थित रहे। सर्वोच्च अदालतको आदेशपछि तीन जनाको शपथ रोकिएको थियो। केपी ओली सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत युवराज खतिवडा, विमला पौड्याल र रामनारायण विडारीविरुद्ध सर्वोच्चमा मुद्दा परेको थियो। सर्वोच्चको अल्पकालीन अन्तरिम आदेशले खतिवडा, पौड्याल र विडारीको शपथमा रोक लगाएको थियो। -कान्तिपुर डेलीबाट साभार