दिवंगत केशव भट्टराईको परिवारलाई ३३ लाख हस्तान्तरण

  • 8
    Shares
दिवंगत केशव भट्टराईको परिवारलाई ३३ लाख हस्तान्तरण

काठमाडाैं । गत वर्षको मंसिरमा हृदयघातका कारण निधन भएका नेपाली चलचित्रका चम्किला नक्षत्र केशव भट्टराईले तुलसी घिमिरे निर्देशित चलचित्र ‘कोशेली’ बाट अभिनेताको रुपमा डेब्यू गरेका थिए । उनले आफ्नो अभिनय करिअरमा २ सयभन्दा बढी चलचित्रमा काम गरेका छन् । चलचित्र विकास बोर्डको अध्यक्ष रहँदा निधन भएका उनी त्यसअघि नेपाल विद्युत प्राधिकरणमा कार्यरत थिए ।

केही सफल चलचित्रको निर्माण समेत गरेका भट्टराईले चलचित्र ‘आफ्नो मान्छे’ को कमाईबाट काठमाडौंको अनामनगरमा घर किनेका थिए । तर, ‘सो सिम्पल’ चलचित्र असफल भएपछि उनी ऋणमा डुबे । जसका कारण उनले घर नै बेच्नुपर्‍यो । यसपछि उनी अनामनगरमै फ्ल्याट भाडामा लिएर बस्न थालेका थिए । अहिले उनका श्रीमती र छोरा भाडाको कोठामा बस्दै आएका छन् ।

उनले परिवारका लागि भनेर सिनामंगलमा बैंकसँग लोन लिएर एउटा अपार्टमेन्ट किनेका थिए । तर, त्यहाँ सर्न नपाउँदै उनी अस्ताए । उक्त अपार्टमेन्टको लोन तिर्ने उद्देश्यले चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राईको अध्यक्षतामा गठन भएको ‘केशव भट्टराई परिवार सहयोग समिति’ ले स्वर्गीय भट्टराईकी श्रीमती नीता भट्टराईलाई संकलित रकम हस्तान्तरण गरेको छ ।

बुधवार चलचित्र विकास बोर्डको सभा हलमा अमेरिका, अस्ट्रेलिया, बेल्जियम, दुबईलगायतका देशहरुमा बस्ने नेपाली चलचित्रकर्मीले समितिलाई पठाएको कूल ३३ लाख ३७ हजार स्वर्गीय भट्टराईको परिवारलाई हस्तान्तरण गरिएको हो । कार्यक्रममा राजकुमार राई, दयाराम दाहाल र नीर शाहले केशव भट्टराईलाई सम्झिँदा स्वर्गीय भट्टराईकी श्रीमती नीताका आँखा रसाएका थिए ।