वामदेवविरूद्धको मुद्दा: प्रधानन्यायाधीशसहित ५ न्यायाधीशको बहस आजदेखि सुरु

वामदेवविरूद्धको मुद्दा: प्रधानन्यायाधीशसहित ५ न्यायाधीशको बहस आजदेखि सुरु

काठमाडौं, १४ असोज । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लगेको विषयमा परेको मुद्दामाथि आजदेखि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित ५ न्यायाधीशको संवैधानिक इजलासमा बहस सुरु भएको छ ।

आजदेखि बहस सुरू हुने प्रधानन्यायाधीशसहितको पूर्ण इजालसमा न्यायाधीशहरू दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा छन् ।यसअघि असोज ७ गते सो मुद्दालाई सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजालसले संवैधानिक इजालसमा पठाएको थियो । भट्टराईको इजालसले अन्तरिम आदेश दिँदै गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिन सरकारलाई आदेश दिएको थियो ।

सो मुद्दा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेका हुन् । उनको रिटमा गौतमलाई मन्त्रिपरिषद्ले राष्ट्रिय सभा सदस्यमा गरेको सिफारिस र राष्ट्रपतिबाट भएको मनोनयन बदर गर्न अन्तरिम आदेश, मन्त्री नबनाउन प्रतिषेधको आदेश र राष्ट्रियसभा सदस्यमा नियुक्तिका लागि मापदण्ड जारी गर्न परमादेश माग गरिएको छ ।

बहाल रहेको प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचनमा हारेको व्यक्तिलाई राष्ट्रिय सभामा मनोनीत गर्न नपाइने भन्दै अधिवक्त त्रिपाठीले मुद्दा दायर गरेका हुन् ।