मध्यपश्चिम विश्वविद्यालयको रजिष्ट्रारमा डा.पौडेल नियुक्त

मध्यपश्चिम विश्वविद्यालयको रजिष्ट्रारमा डा.पौडेल नियुक्त

कर्णाली, १४ असोज ।मध्यपश्चिमाञ्चल विश्वविद्यालय (मप) को रजिष्ट्रारमा सहप्राध्यापक डा नारायणप्रसाद पौडेल नियुक्त हुनुभएको छ । मप विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट रजिष्ट्रार छनोट गरी नियुक्ति दिन गत असार २२ गते दरखास्त आह्वान गरेको थियो ।

दरखास्ता आह्वानबमोजिम १९ जनाको आवेदन परेको थियो । काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति प्रा डा सुरेशराज शर्मा नेतृत्वको तीन सदस्यीय छनोट समितिले आवेदकहरुको आवश्यक मापदण्डका आधारमा डा पौडेललाई छनोट गरेको थियो ।

उन्नाइस जनाबीचको प्रतिस्पर्धामा समितिले छनोट गरेका सह प्रा डा पौडेललाई रजिष्ट्रार नियुक्तिका लागि मप विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्रीसमक्ष सिफारिस गरिएको र प्रधानमन्त्रीले नियुक्ति स्वीकृत गर्नुभएको उपकुलपति प्रा डा नन्दबहादुर सिंहले जानकारी दिनुभयो । “यसरी खुला प्रतिस्पर्धाबाट रजिष्ट्रार नियुक्ति गर्ने काम नेपालका विश्वविद्यालयहरुको इतिहासमा पहिलो घटना हो”, उहाँले भन्नुभयो, “जुन काम यतिबेला मध्यपश्चिमाञ्चल विश्वविद्यालयले सम्पन्न गरेको छ ।”

उपकुलपति प्रा डा सिंहले यसअघि राजनीतिक शक्तिका आधारमा विश्वविद्यालयमा रजिष्ट्रार नियुक्ति गरिने प्रणाली पूर्णरूपले तोडिएको जिकिर गर्नुभयो । यसैगरी विश्वविद्यालयले मानविकी तथा समाजशास्त्र सङ्काय, व्यवस्थापन सङ्काय, विज्ञान तथा प्रविधि सङ्काय र शिक्षाशास्त्र सङ्काय गरी रिक्त चारवटा डिन पदको खुला प्रतिस्पर्धामा भाग लिन दरखास्त आह्वान गरेको छ । आवश्यक मापदण्ड पूरा गरी खुला प्रतिस्पर्धाबाट सफल हुने उम्मेदवारलाई डिनमा नियुक्त गरिने विश्वविद्यालयले जनाएको छ ।रासस