८ सय पत्रकारका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न

८ सय पत्रकारका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न

असोज ९, काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकारहरुका लागि कोभिड १९ सँग सम्बन्धित, वैज्ञानिक पक्ष र रिपोर्टिङका लागि अपनाउनुपर्ने आवश्यक सचेतनाका बारेमा आज गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पत्रकारलाई अभिमुखिकरण सम्पन्न गरेको छ ।

आजको कार्यक्रमसंगै महासंघले भर्चुअल माध्यमबाट सातवटै प्रदेशका करिब ८ सय पत्रकारका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रम विश्व स्वास्थ्य संगठन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञहरुको सहभागितामा गरिएको हो ।

नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै कोरोना भाइरस संक्रमणबाट जोगिएर कार्यक्षेत्रमा खटिन पत्रकारलाई आग्रह गर्नुभयो । उहाँले कार्यक्रमबाट सिकेको ज्ञानलाई व्यवहारमा लागु गर्न आवश्यक रहेको भन्दै उक्त ज्ञानलाई सहकर्मी तथा परिवारमा समेत विस्तार गर्नुपर्ने बताउनुभयो ।कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठनका विज्ञहरुले कोरोनासंग सम्बन्धित पक्षहरुका बारेमा प्रस्तुतिकरण सहित सहभागीहरुको जिज्ञासाको जवाफ दिनुभएको थियो ।

महासंघका सचिव एवम् कार्यक्रमका सहजकर्ता प्रकाश थापाले नेपालमा कोरोनाको संक्रमण शुरु भए लगत्तै महासंघले जारी गरेको कोरोना निर्देशिका पालना गर्न आग्रह गर्नुभयो । साथै उहाँले अभिमुखीकरण कार्यक्रमले पत्रकारलाई कोरोना भाईरस संक्रमण सम्बन्धी महत्वपूर्ण ज्ञान हासिल भएको बताउदै कोरोनाको रोकथाम तथा समाचार सम्प्रेषण गर्दा अपनाउनुपर्ने सावधानीकालागि महत्वपूर्ण भएको बताउनुभयो ।

कार्यक्रमा विज्ञहरु डा.सुनोर बर्मा, डा.बिनोदप्रसाद गुप्ता, डा.मिका भट्टचन, रोशन नेपाल, डा.समिरकुमार अधिकारी, राजन रायमाझी, डा.राहुल प्रधान, डा.केदार मरहठ्ठा, डा.निराजन भुषालले प्रस्तुती राख्दै सहभागीहरुको जिज्ञासा मेटाउनुभएको थियो ।