-राष्ट्रवाणी संवाददाता-
काठमाडौं, असाेज १९ । बदलिँदो राजनीतिक परिस्थिती र आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन लगायतका समसामयिक विषयमा छलफल गर्न सत्तारुढ नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक शुक्रबार बस्ने भएको छ।
सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग चुनावी तालमेलसँगै पार्टी एकिकरणको निर्णय लिएपछि उत्पन्न परिस्थितीकोबारेमा छलफल गरी पार्टीको रणनीति तय गर्न सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक डाकेका हुन्।
शुक्रबार बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने उक्त बैठकले हालै सम्पन्न तेस्रो चरणको स्थानीय तह निर्वाचनको समिक्षा गर्नुका साथै माओवादी एमाले गठबन्धन पश्चात उत्पन्न परिस्थिती र त्यसको सामना के कसरी गर्नेबारे पनि छलफल र निर्णय लिने छ।
यसअघि एमाले र माओवादी गठबन्धन भएलगत्तै मंगलबारदेखि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक निरन्तर बस्दै आएको छ।
जसले वामपन्थी ध्रुवीकरणबाट उत्पन्न हुन सक्ने राजनीतिक प्रभावलाई निस्तेज पार्न लोकतान्त्रिक राष्ट्रवादी शक्तिहरुबीचको तालमेल र गठबन्धन निर्माण प्रक्रियालाई अघि बढाउने निर्णय गर्दै पार्टी नेतृत्व त्यसै दिशामा केन्द्रीत भइरहेको छ।