काठमाडौँ । नेपालमा दुई तिहाई बहुमतसहित वामपन्थीको केन्द्रीय सरकार गठन भएको छ भने उता भारतमा वामपन्थीको किल्लाहरु ढल्दैछन् ।
वामपन्थी पार्टी माक्र्सवादी कम्युनिष्ट पार्टी (सिपिएम) को कब्जामा भारतको त्रिपुरामा २५ वर्षदेखि रहेको किल्ला भारतीय जनता पार्टी (भाजपा) ले जित हासिल गरेको छ । त्रिपुरासँगै भारतमा वामपन्थीहरुको केरला बाहेक सबै किल्ला लगभग ध्वस्त नै पारेको छ ।
भारतको पश्चिम वंगालपछि सिपिएमको सबभन्दा शक्तिशाली संगठन र सरकार त्रिपुरामा नै थियो । त्यसलाई पराजय गर्नका लागि कसैले सोच्न पनि सकिरहेको थिएन तर भाजपाको लामो प्रयासपछि वामपन्थीका किल्ला ढलेको हो । अब भारतमा केरलामा मात्र वामपन्थी सरकार बाँकी छ तर त्यहाँ पनि भाजपाले किल्ला जमाएर बसेको छ ।
६० सदस्यका लागि भएको विधानसभा मतदानमा ७० प्रतिशत मत खसेको थियो । ३१३ उम्मेदवारमध्ये सिपिएमले आफ्ना ५६ उम्मेदवार उठाएको थियो भने भाजपाले ५१ सीटमा आफ्नो उम्मेदवारी दिएको थियो । यसअघि सन् २०१३ मा ५० सीटमा भाजपाले उम्मेदवारी दिएको थियो । तर, त्यसमध्ये ४९ सीटमा भाजपाको जमानत जफ्त भएको थियो । त्यो परिणाम पछि भाजपा निकै निराश भएको थियो ।
तर, त्यसपछि भाजपाले त्रिपुरालाई आफ्नो रणनीतिक महत्वको ठाउँ ठानेर त्यहाँ सम्पूर्ण शक्ति परिचालन गर्यो ।
अहिले भाजपाले त्यहाँ दुई तिहाई सीट हासिल गरेको छ । जो कसैले कल्पना समेत गरेको थिएन । भाजपालाई उत्तर भारतको मात्र पार्टी हो भनि आरोप लाग्दै आएका थियो । तर यो जितले त्यो आरोप समाप्त भएको छ । अब यससँगै भारतको २० राज्यमा भाजपाको आफ्नो तथा संयुक्त सरकार हुने भएको छ ।
हुन त भाजपाले नर्थ–इस्टको राज्य असम र मणिपुरमा पनि भाजपाले जित हासिल गरेको छ । तर जसरी त्रिपुरामा वामपन्थीको २५ वर्षको किल्ला ध्वस्त पारेको छ, त्यसले भारतीय राजनीतिमा ठूलो अर्थ राखेको छ ।
यसअघि यस्तै मजबुत रहेको बंगालमा वामपन्थीको बर्चस्व पनि समाप्त भएको थियो ।
भाजपाले वामपन्थको बर्चस्व भएको राज्य बंगाल लगायत अन्य ठाउँमा पनि ध्वस्त पारेको थियो तर त्रिपुरा जतिको चर्चा कहि पाएको छैन ।
त्रिपुरामा आफ्नो पकड बनाउनका लागि भाजपाले आफ्नो सम्पूर्ण शक्ति लगाएको थियो । यहाँसम्म कि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ध्यान पनि त्यतैतिर थियो । उनले त्यहाँका लागि विभिन्न विकासका एजेण्डा लिएर जानुको साथै त्यहाँको विकासका लागि एउटा छुुटै मन्त्रालय समेत गठन गरेका थिए ।
यहाँसम्म कि प्रत्येक महिना एक–एकजना मन्त्री पठाएर जनतामा विकासको एजेण्डा छिराएर मन जित्ने प्रयास गरेका थिए ।
आरएसएसले त्यहाँ धेरै पहिलादेखि काम गर्दै आएको थियो । त्यहाँ वनवासी कल्यण आश्रम सञ्चालन गरेर आदिवासी जनजातिलाई पार्टीसँग जोड्ने काम गरेको थियो । त्यसबाहेक जनकाल्याणका कार्यक्रमहरु पनि सञ्चालनमा ल्याएको थियो । चुनावको समयमा त उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथलाई नै त्यहाँ विशेष रुपमा खटाइएको थियो । उनी चुनाव प्रचारका विशेष दूत थिए, त्यहाँका लागि ।
भाजपाले सांगठनिक रुपमा त्यहाँ हेमत विश्वसरमालाई नार्थ–इस्टको जिम्मेवारी दिएको थियो । उनकै अगुवाईमा भाजपाले त्रिपुराको आदिवासी क्षेत्रमा बर्चस्व कायम राखेको आईपीएफटीसँग पनि सम्झौता गर्न भ्याएको थियो ।- राताेपाटी