हिमाल आरोहण गर्न बहराइनका राजकुमार नेपाल आइपुगे

हिमाल आरोहण गर्न बहराइनका राजकुमार नेपाल आइपुगे

काठमाडौँ, ३१ भदौ।बहराइनका राजकुमारसहितको टोली नेपालीका दुई हिमाल खुम्बु क्षेत्रमा पर्ने लोबुचे तथा उत्तरी गोरखाको मनास्लु हिमाल आरोहण गर्न बहराइनबाट राजपरिवारका एक सदस्यसहित १८ जनाको टोली काठमाडौं आइपुगेको छ ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बिहान करिव ११ बजे उनीहरु चढेको जहाज काठमाडौं आएको हो ।उनीहरुलाई शेख इशा एयरवेजबाट विशेष विमानले काठमाडौं विमानस्थलमा ल्याएको हो । जहाज बहराइनबाट राती १२ः३० बजे स्थानीय समयअनुसार काठमाडौंका लागि उडेको थियो । दूतावासका अनुसार यो टोली नेपालमा दुई महिना बस्ने छ ।

यो टोलीले नेपालमा रहँदा समेत सरकारले तोकेका स्वास्थ्य मापदण्ड पुरा गर्ने भएको छ । टोलीलाई बहराइनबाट बहराइनका लागि नेपाली राजदूत पदम सुन्दास, नियोगको द्वितीय सचिव अरुणा घिसिङ, श्रम सहचारी दामोदर दाहाललगायतले बिदाई तथा शुभकामना दिएका थिए ।दूतावासका अनुसार, यो टोलीमा बहराइनको डिफेन्स फोर्समा कार्यरत १५ जना बहराइनी र तीन जना बेलायती नागरिक छन् ।

 दुइटा हिमाल आरोहण गरेपछि अर्को वर्षको वसन्तकालीन यामममा सगरमाथा आरोहण गर्ने टोलीको मुख्य लक्ष्य रहेको छ ।