काठमाडौं, ३० भदौ ।नेपाल विद्युत प्राधिकरणका कर्मचारीले कुलमान घिसिङलाई बिदाई गरेका छन्।प्राधिकरणको कार्यकारी निर्देशकका रूपमा घिसिङको चारवर्षे कार्यकाल आइतवार सकिएपछि मंगलवार उनको बिदाइ गरिएको हो ।
मन्त्रिपरिषद्ले घिसिङलाई पुनर्नियुक्ति गर्न सक्ने चर्चा चलिरहेकाले बिदाइ कार्यक्रमलाई दुई दिनसम्म रोकिएको थियो ।सोमवारको मन्त्रिपरिषद् बैठकले पुनर्नियुक्तिको निर्णय नगरेपछि मंगलवार कर्मचारीहरूले उनको बिदाइ गरेका हुन् ।
बिदाई कार्यक्रममा प्राधिकरणका कर्मचारीले घिसिङलाई फेरि कार्यकारी निर्देशकका रूपमा प्राधिकरणमा ल्याउनुपर्ने बताएका थिए। उनीहरूले कुलमानलाई बुद्धको मूर्ति मायाको चिनो उपहार दिँदै बिदा गरेका हुन्।बिदाइका क्रममा वक्ताहरूले घिसिङलाई पुन: स्वागत गर्न पाइने आशा पनि व्यक्त गरेका छन् ।
कार्यकाल सम्हाल्दै गर्दा दैनिक १८ घण्टासम्म लोडसेडिङ भोगिरहेका उपभोक्तालाई घिसिङले लोडसेडिङ अन्त्य गरेका थिए ।प्राधिकरणमा कुलमानलाई निरन्तरता दिन सरकारमाथि आम जनताले सामाजिक संजाल र मिडियाबाट दबाब बनाइरहेका छन् ।