पर्वतमा पहिरोबाट तीन वर्षीया बालिकाको मृत्यु

पर्वतमा पहिरोबाट तीन वर्षीया बालिकाको मृत्यु

पर्वत, २९ भदौ। फलेवास नगरपालिका–४ मुडिकुवास्थित शिर्शुवामा पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु भएको छ ।

स्थानीयवासी नवीन विकको घर पुरिँदा उनकी तीन वर्षीया छोरी निकिताको मृत्यु भएको हो । गए राति २ बजेदेखि निरन्तर परेको वर्षापछि घरमाथिबाट खसेको पहिरामा पुरिएकी बालिकालाई बिहान करिब ७ बजे स्थानीयवासीले मृतावस्थामा फेला पारेका हुन् । परिवारका अन्य व्यक्ति भने पहिरो खसिरहेका अवस्थामा भागेर बाँच्न सफल भएको फलेवास प्रहरीचौकीले जनाएको छ । बाह्र जनाको संयुक्त परिवार बसेको घरमा पहिराले क्षति पुर्याएको हो ।

घरमाथिबाट पहिरो खस्न थालेपछि निदाइरहेकी छोरीलाई काखमा लिएर भाग्ने क्रममा ढुङ्गाले लागेर खसेपछि स्थानीयवासीले खोजी शुरु गरेका थिए । पहिराले विकका दुई भैँसी र दुई गाईसमेत पुरिएका छन् । त्यस्तै पहिराबाट स्थानीयवासी रामप्रसाद तिवारीको गोठ भत्किँदा गोरु मरेको छ । सोही पहिराका कारण करिब १०० रोपनी धानखेतमा क्षति पुगेको वडाध्यक्ष टीकाराम गौडेलले जानकारी दिए ।

पर्वत प्रहरीका प्रवक्ता एवं निरीक्षक बुद्धिप्रसाद सुवेदीका अनुसार राति पहिरो खसेपछि मध्यपहाडी लोकमार्गको पर्वतखण्ड अवरुद्ध भएको छ । कुश्मा–८ चुवा र कुश्मा–१ पाङको सहस्रधारामा खसेको पहिराले राजमार्ग अवरुद्ध भएको हो । त्यस्तै कुश्मा नगरपालिका–२ स्थित रिठेखोलामा आएको बाढीले समेत यातायात अवरुद्ध बनेको छ ।