काठमाडौं उपत्यकामा थपिए ४३१ संक्रमित, ५ जनाको मृत्यु

काठमाडौं उपत्यकामा थपिए ४३१ संक्रमित, ५ जनाको मृत्यु

काठमाडौं, २७ भदौ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका थप ४३१ जना कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा ३७७, ललितपुरमा ३७ र भक्तपुरमा १७ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ५ जनाको मृत्यु भएको छ । काठमाडौंका ५१ र ५४ वर्षीय पुरुष, ७६ वर्षीया महिला र भक्तपुरका ३८ र ७४ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा थपिएका १ हजार २ सय १ जनासहित देशभर संक्रमितको संख्या ५३ हजार १ सय २० पुगेको जानकारी दिए । संक्रमितमध्ये ३७ हजार ५ सय ३४ जना उपचारपछि घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा मात्र ८५२ जना डिस्चार्ज भएका छन् । यसैगरी नेपालमा आइसोलेसनमा रहने कोरोना संक्रमित १५ हजार २ सय ६० जना छन् भने ६ हजार ३ सय ५४ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएकाे छ ।