सुल्झियो नेकपा विवाद : अध्यक्षद्वयको स्पष्ट कार्यविभाजन

सुल्झियो नेकपा विवाद : अध्यक्षद्वयको स्पष्ट कार्यविभाजन

–प्रकाश सिलवाल

काठमाडौँ, २६ भदौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठकमा छताछुल्ल भएको आन्तरिक विवाद अन्ततः सोही कमिटीको बैठकबाट अन्त्य भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज सम्पन्न स्थायी कमिटीको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको सहमतिका आधारमा गठित समस्या समाधान समितिको प्रतिवेदन परिमार्जनसहित प्रस्तुत र पारित भएपछि विवाद टुङ्गिएको हो । आजको निर्णयसँगै एकताका बाँकी काम पूरा गर्ने कार्यले तीव्रता पाउने छ । पार्टी विभाजनमा पुग्न सक्ने र सरकारको स्थायित्वमा सङ्कट आउन सक्ने अन्योल समाप्त भई अब नयाँ उत्साह पैदा भएको छ ।

गत असार १० गते शुरु भई पटक पटक बस्दै र स्थगन हुँदै आएको स्थायी कमिटीको बैठकमा सरकार र पार्टी कामबारे नेताहरुबीचको आपसी अविश्वास र अन्तरकलहका कारण नियमित कार्यसूचीमा छलफल हुन नसकेपछि अध्यक्षद्वयले महासचिव विष्णुप्रसाद पौडेल नेतृत्वकमा समस्या समाधान कार्यदल गठन गर्नुभएको थियो । कार्यदलको सुझावलाई थप गृहकार्य गरी उहाँहरुले आजको बैठकमा अध्यक्षद्वयको कार्याविभाजनसहित ठोस कार्ययोजना प्रस्ताव प्रस्तुत गरेपछि बैठकले छलफलसहित पारित गरेको हो ।

बैठकमा नेता माधवकुमार नेपालले भने विधि र पद्धतिका लागि आफूले उठाउँदै आएको ‘एक व्यक्ति ः एक पद’ को प्रस्ताव कार्यदलको प्रतिवेदनमा नपरेको जनाउँदै असहमति जनाउनुभएको छ । कार्यदलले दिएको प्रतिवेदनबारे यही भदौ १८ गतेको सचिवालय बैठकमा छलफल भई गृहकार्यसहित स्थायी कमिटीमा पेश गर्ने तय भएको थियो । समस्या समाधान कार्यदलमा भीमबहादुर रावल, जनार्दन शर्मा, पम्फा भुसाल, शङ्कर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डे सदस्य हुनुहुन्थ्यो ।

अध्यक्षद्वयको स्पष्ट कार्यविभाजन

बैठकले अध्यक्ष एवं प्रधानमन्त्री ओली सरकारको काममा केन्द्रित हुने र अध्यक्ष दाहाल पार्टीको काममा केन्द्रित भई कार्यकारी अध्यक्षको भूमिकामा रहने कार्यविभाजनको प्रस्ताव पारित गरेको छ । यसबारे गत मङ्सिर ४ गतेको स्थायी कमिटीको बैठकमा गरिएको निर्णय कार्यान्वयनमा देखिएको अन्योललाई थप चिर्दै आजको बैठकले सहमतिका साथ स्पष्टता निर्माण गरेको हो । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आजको बैठकले सरकारका कामकारबाहीमा पार्टीले हस्तक्षेप नगर्ने तर आधारभूत महत्वका विषयमा सरकारले पार्टीको समन्वय र मार्गदर्शनलाई केन्द्रमा राखेर काम गर्ने निर्णय गरेको छ ।

अध्यक्षद्वयले प्रस्तुत गरेको १५ बुँदे सहमतिको प्रस्ताव सर्वसम्मतिले पारित हुनुअघि बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, नेता नेपाल, प्रवक्ता श्रेष्ठ, नेता अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, रावल, घनश्याम भुसाल, रघुजी पन्त, लीलामणि पोखरेल, भीमप्रसाद आचार्य, देवप्रसाद गुरुङ, मातृकाप्रसाद यादव र अमृतकुमार बोहराले धारणा राख्नुभएको थियो ।

महाधिवेशन चैत अन्तिममा

बैठकले आगामी चैत अन्तिम साता पार्टीको एकता महाधिवेशन गर्ने पूर्ववत् निर्णयलाई पुनः तय गरेको छ । चैत २५ देखि ३० गतेसम्म महाधिवेशन हुने भएको हो । यसअघि पार्टीको केन्द्रीय कमिटीले पनि यसबारे सोही मितिमा गर्ने निर्णय गरेको थियो । महाधिवेशनको तयारीका लागि आगामी कात्तिक १५ देखि १७ गतेसम्म केन्द्रीय कमिटीको बैठक तय गरिएको छ ।

एमसिसी परिमार्जनसहित पारित हुने

बैठकले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पाेरेशन कम्प्याक्ट (एमसिसी) लाई आवश्यकतानुसार संशोधन र परिमार्जन गरी अनुमोदन गर्ने निर्णय गरेको छ । सो सम्झौता नेकपाको विवादकारासस