वी.पी. पढ्नेहरुले नै वी.पी.लाई बुझेनन्

वी.पी. पढ्नेहरुले नै वी.पी.लाई बुझेनन्

शेरबहादुर भण्डारी

“प्रजातान्त्रिक समाजवाद भन्नु नै उदार प्रजातन्त्र भित्रको सामाजिक न्याय हो । प्रजातन्त्र र राष्ट्रियता अन्योयाश्रित छन् । राष्ट्रियता प्रजातन्त्रको देन हो ।” वी.पी.कोइराला

जननेता विश्वेश्वरप्रसाद कोइरालाको १०७ औं जन्मजयन्ती नेपाली काँग्रेस पार्टीका विभिन्न तह र तप्काबाट मनाईदैछ । यो समयमा पुग्दै गर्दासम्म वी.पी.को दर्शनबारे आफ्ना विचार फलाक्ने र उहाँको फोटोमा फुलमाला र अविरले रङ्गीन बनाउने काम हामीबाट छुटेको छैन ।

वीपीले भन्नुहुन्थ्यो : “नेपालमा जनताहरु ९०% गरीब छन् । कुटो, कोदालो गरेका छन् र गाउँमा बस्दछन् जसलाई वर्षको ६ महिना पनि खान पुग्दैन । जब म नेपालको कल्पना गर्छु त्यसबेला तिनै गरीब दाजुभाइहरुको तस्विर मेरो अगाडि आउँछ । मैला लुगा लगाएको, खान नपाएको अनुहार । त्यसो हुनाले त्यहि खान नपाएको पेटमा अन्न जाओस्, हाँस्न नपाएको ओठमा हाँसो आओस् । रोगीले औषधी मुलो पाओस् केटाकेटीले पढ्न पाउन् भनेर नै हामी राजनीतिमा लागेका हौ ।”

जननेता विश्वेश्वरप्रसाद कोइरालासँग विभिन्न परिस्थितिमा संगत गर्नु भएका, प्रत्यक्ष राजनीतिक गतिविधिमा संलग्न हुनु भएका र उहाँको आह्वानमा परिर्वतनको लागि आन्दोलनमा होमिनु भएका गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला अर्थात् दोस्रोपुस्तालाई विश्वास गरेर वीपीले पार्टीको जिम्मा लगाउनु भयो । तेस्रो पुस्ता मानिएका पार्टी सभापति शेर ब. देउवा, रामचन्द्र पौडेल र चौथो पुस्ता गोपालमान श्रेष्ठ, विमेलेन्द्र निधि, डा. रामशरण महत, प्रकाशमान सिंह, शशाङ्क कोइराला पूर्ण बहादुर खड्का, शेखर कोइराला, कृष्ण सिटौला, अर्जुननरसिंह के.सी. । गिरीजाप्रसाद कोइरालादेखि शशाङ्क कोइरालासम्म पुग्दा पार्टी नेतृत्वले उहाँको दर्शन, आचार र व्यवहारबाट के सिक्यो ? के बुझ्यो त ? यो मननयोग्य र गम्भिर प्रश्नको जवाफ काँग्रेस पार्टीभित्र मात्रै होइन नेपालको समग्र राजनीति वृतमा अनुत्तरित छ ।

वी.पी.सँग जोडिएका हरेक घटना, वी.पी.ले बोलेका कुरा, वी.पी.ले गरेको भाषण, वी.पी.ले गरेको संघर्ष, देखाएको व्यवहार, उहाँले छोटो समयमा गरेको विकासको काम र उहाँले देश विकासको लागि दिनु भएको खाका र परिस्थितिको सहि विश्लेषण गरेमा प्राय सबै विषय त्यतिकै नेपालको राजनितिमा अर्थपूर्ण र महत्वपूर्ण रहदै आएको छ ।

वी.पी.को संघर्षको यात्रा :– “जिवनको सार्थकता कुनै उद्धेश्यका लागि कुनै प्रतिबद्धतामा निर्भर गर्दछ । मानिस आफ्नो संकल्प र आस्थाले यथार्थमा मानिस हुन्छ ।”
वि.स. १९७१ भाद्र २४ गते बनारसमा जन्मेका वी.पी.को शिक्षिा दिक्षा पनि भारतमा नै भएको थियो । घर परिवारको वातावरण तथा त्यसैबेला भारतमा चलिरहेको अंग्रेज विरुद्धको आन्दोलनले उनको सक्रियता राजनीतितर्फ उन्मुख भएको थियो ।

भारतमा महात्मा गान्धीको नेतृत्वमा भारत छोड आन्दोलन चलिरहेको थियो । १५ वर्षको उमेरमा वी.पी. आतङ्कवादी संगठनमा लागेको आरोपमा “मौलानिय केसमा गिरफ्तार भएपछि ३÷४महिनामा छुटे । कलकत्तामा कानुनको स्नातक छात्र रहँदा सन् १९३४ बाट भारतीय काँग्रेस समाजवादी दलमा काम गर्न थाले । सन् १९३९ देखि १९४१ सम्म उनी कैयौ पटक गिरफ्तार भए । वि.पी. कोइराला सन् १९४२ को भारत छोड आन्दोलनमा सक्रिय रुपले भाग लिए । त्यसबेला हजारबाद जेलमा डा. राजेन्द्रप्रसाद जस्ता नेतासंग सम्र्पक भयो । भारतमा छदा डा. राम मनोहर लोहिया र जयप्रकाश नारायण समाजवादी विचारकसंग निकट रहे । त्यसपछि उनी सधै प्रजातान्त्रिक समाजवादका समर्थक रहे ।

नेपालमा पहिलो आन्दोलन वि.स. २००३ साल फाल्गुन १ गते विराटनगरका मिल मजदुरहरुले गरे । उनीहरुले मिलमा हडताल सुरु गरे । यो हडतालमा उत्रेका मजदुरलाई पक्राउ ग¥यो । त्यसमा वी.पी., मनमोहन, तारिणी , गिरीजा, गोपाल भट्टराई लगायतलाई काठमाण्डौ ल्याएर थुनामा राखियो । त्यसपछि राष्ट्रिय काँग्रेसले सत्याग्रहका थप कार्यक्रम सुरु गर्‍यो ।

वि.स. २००५ को तिहार सकिनासाथ नेपाल प्रजा पञ्चायतले सत्याग्रह सुरु गर्‍यो । आफ्नो कार्यक्रममा सहयोग गर्न उसले सबैलाई अपिल गरेको थियो । यसमा सहयोग गर्न काठमाण्डौ आउनु भएका वी.पी. फेरी गिरफ्तार हुनुभयो । नेपाली राष्ट्रिय काँग्रेसले अहिंसात्मक नीति छोडेर नेपाल प्रजातन्त्र काँग्रेससँग मिलेर नेपाली काँग्रेसको पार्टी निर्माण गरेपछि (वि.स.२००६) सशस्त्र क्रान्ति गर्ने निर्णय ग¥यो । पूर्व नेपालको मुख्य कमान्डर वी.पी. कोइराला हुनुभयो र देशका प्राय जसो सबै ठाउँमा सशस्त्र संघर्ष सुरु भयो । वि.स.२०११ मा सत्याग्रह र वि.स. २०१४ मा भद्र अवज्ञा आन्दोलनमा वि.पी.पटक पटक हिरासतमा पर्नु भयो ।

महेन्द्रले चुनावको वि.स.२०१५ फागुन ७ गते हुने घोषणा गरे । देशमा चुनाव भयो । ने.का.ले १०८ मा ७४ सिट लिएर दुई तिहाईको सरकार बनायो तर दुई वर्ष नबित्दै वि.स. २०१७ पुष १ गते प्रथम जननिर्वाचित प्रधानमन्त्री वी.पी.लाई थुनेर प्रजातन्त्रको हत्या गरियो । थुनामा रहेको लगभग ८ वर्ष पछि वि.स. २०२५ साल कार्तिक १४ गते उहाँलाई रिहा गरियो । भारत गएर प्रजातन्त्र पूर्नबाहालीको लागि गतिविधि गर्नु थाल्नुभयो । वी.पी. कोइरालामाथि विशेष अदालतमा सातवटा संगीन मुद्धा चलिरहेका थिए भने अर्कोतर्फ पञ्चहरु व्यक्तिगत र सामुहिक रुपमा वक्तब्य बाजी गरेर वी.पी.कोइरालालाई कडा भन्दा कडा सजाय दिइयोस भन्ने माग गरिरहेका थिए ।

सशस्त्र संघर्षको असफल, देश भित्र कम्यूनिष्टहरुको बढ्दो प्रभाव र सिक्किमको विलयपछि साना छिमेकी राष्ट्रप्रति भारतीय हस्तक्षेपको खतरालाई दृष्टिगत गरी राष्ट्रिय मेलमिलापको नीतिका साथ वी.पी वि.स. २०३३ साल पुष १६ गते नेपाल फर्किनु भयो । वि.स.२०३४ सालमा कार्तिक २३ गते वी.पी.लाई पुन : थुनामा राखियो । बाहिरी दवावका कारण उपचार पछि अदालतमा उपस्थिति हुने गरी रिहाई गरियो ।

वि.स.२०३७ साल बैशाख २० गते जनमत संग्रह गर्ने घोषणा भयो तर परिमाण सोचेको भन्दा उल्टो भयो तर पनि उहाँले भन्नु भयो कि ,“अहिलेको जनमत संग्रहको घोषित परिणाम जस्तोसुकै अप्रत्यााशित र व्याख्या गर्न नसकिने भएपनि म स्वीकार गर्दछु ।” एकातिर निरङ्कुश शासनतन्त्र र अर्कोतिर क्यान्सर जस्तो घातक रोगसंग निरन्तर संघर्ष गर्दै ६८ वर्षको उमेरमा देहावशान भयो । वामपन्थी नेता मनमोहन अधिकारीले, “आज उहाँको निधनबाट गरीब नेपाली जनताले आफ्नो बारेमा पीर गर्ने महान व्यक्ति गुमाएको धारण व्यक्क्त गरेका थिए ।”

वी.पी. एक विचारक :— वि.स. २०१२ मा नेपाली काँग्रेसको छैटौं महाधिवेशन वीरगञ्जमा भयो । यस अधिवेशनमा सुवर्णशमशेर नेपाली काँग्रेसको सभापति निर्वाचित हुनु भयो । त्यस महाधिवेशनले नेपाली काँग्रेसले आफ्नो आर्थिक नीति स्पष्ट रुपमा किटान गर्दै प्रजातान्त्रिक समाजवाद हुने घोषणा गर्‍यो ।

वी.पी.को जोड आर्थिक विकास :— वीपी कोइरालाले सरकारको नेतृत्व गरेको छोटो अवधिमा विर्ता प्रथा उन्मुलन, मुद्रा प्रचलनमा सुधार, बनको राष्ट्रियकरण, राज्य रजौट उन्मुलन, औद्यौगिक विकास कार्यक्रम , शिक्षा र स्वास्थ्यकार्यक्रम , यातायात र सञ्चार , सिँचाई र विद्युत, कृषि, भूमिसुधार र सहकारी स्थानीय विकास कार्यक्रम, प्रशासनिक सुधार, आन्तरिक स्रोत परिचालन, विदेशी लगानीकर्ताहरुलाई प्रोत्साहन दिने निति, नेपालको विकासमा अन्तर्राष्ट्रिय सहयोग लगायतका क्षेत्रमा महत्वपूर्ण कार्यको थालनि गर्नुभयो ।

१५ वर्ष भित्र मुलुकलाई विकसित मुलुक बनाएर सम्पूर्ण नेपालीलाई आफु सरहको मध्यम खालको जीवनस्तर बनाउने उद्घोष गर्नु भएको थियो । १८ महिने शासनकालमा २२०० वटा प्राथमिक विद्यालय र नेपालको प्रथम विश्वविद्यालय त्रि.वि. वि.स्थापना गर्नुभयो भने सबै बुथ केन्द्रमा आयुर्वेद औषधीको पेटीका उपलब्ध गराएको थियो ।

वी.पी. को कुटनिति क्षमताः— वी.पी. कोइरालाको प्रधामन्त्रीत्वमा बनेको सरकारले नेपालको परराष्ट्र सम्बन्धमा व्यापक विस्तार गर्‍यो । विश्वमा त्यस समयमा इजरायल र पाकिस्तान लगाएत १६ वटा नयाँ राष्ट्रसँग कुटनीतिक सम्बन्ध स्थापित भयो । वी.पी. प्रधानमन्त्री भएताका गर्नु भएको चीन भ्रमणमा नै चिनिया कम्यूनिष्ट पार्टीका अध्यक्ष मोओत्सेतुङसँग वार्ता गरी सगरमाथाको स्वामित्वका विषय टुङ्गिएको थियो । वी.पी.ले संयूक्त राष्ट्रसंघको १५ औ महासभालाई सम्बोधन गर्दै शक्ति सम्पन्न राष्ट्रहरुले विकासशील र गरिब राष्ट्रहरुमाथि प्रभुत्व जमाउन खोजेको भन्दै शक्तिशाली राष्ट्रको विरोध गर्नुभयो ।

वी.पी.को समावेशी चरित्र :— समावेशीतालाई व्यवहारमा प्रयोग गर्नु भएका महामानव वी.पी.ले आफ्नो पार्टी स्थापना भए देखि नै सबै जाति धर्म सम्प्रदायका मानिसहरुलाई सहभागी गराउनुभयो । वि.स. २००३ सालमा भएको अधिवेशनमा नै देवव्रत परियार, डी.एन.प्रधान, लक्पा छिरिङ शेर्पालाई केन्द्रिय समितिमा ल्याउनुभयो भने वि.स. २००९ सालमा भएको पाँचौ महाधिवेशनमा वी.पी. सभापति र धनमान सिंह परियारलाई महासचिव बनाउनु भयो । त्यस्तै वि.स. २०१५ सालको आमनिर्वाचनमा पनि दलित, जनजाती, मधेशीलाई धेरै संख्यामा टिकट दिनुभयो ।

नेपाली काँग्रेस पार्टीले बहुमत ल्याएपछि उहाँले आफ्नो मन्त्रिमण्डलमा १९ जना मध्ये १० जना भिन्न जातजातीको चयन गर्नु भयो । १) गणेशमान सिंह २) परशुनारायण चौधरी ३) राम नारायण मिश्र ४) सूर्यनाथ दास यादव ५)द्धारीका देवी ठकुरानि ६) मीन ब. गुरुङ ७) योगेन्द्रमान शेरचन ८) प्रेमराज आङदम्बे १०) दीवान सिंह राई । यसैले नेपालको इतिहासमा वी.पी. कोइराला नै समावेशीता प्रमुख प्रयोगकर्ता हुन् ।

समानताका पक्षपाती :— वि.स.२००७ भन्दा अगाडी नेपाली सेनामा भर्ती हुन कतिपय जातजातीलाई बन्देज लगाइएको थियो । प्रजातन्त्र प्राप्ती पछि वि.स. २००७ साल फागुन २० गते एक घोषणा जारी गरि अहिलेसम्म सेनामा भर्ती नपाउनेलाई पनि भर्ती पाउने व्यवस्था गरियो भने जातीय असमानताको रुपमा रहेको छुवाछुतलाई अन्त्य गर्न “सँगै बसौं सँगै खाऊ” भन्ने राष्ट्रिय नारा बनाएर अभियान सुरु गर्नु भयो । पछि वि.स. २०२० सालमा जातपात र छुवाछुतको विभेद अन्त्य गर्नको लागि ल्याइएको नयाँ मुलुकी ऐन यसैको उपज हो । लम्जुङको दुराडाँडाबाट सुरु भएको हलोजोत अभियान जस्ता कार्य पनि वी.पी.कै सोचको परिणाम थियो । समाजमा ठुलाबडाले गरीब र निमुखामाथि ठुलो शोषण गरिरहेका थिए । यस्ता शोषणबाट मुक्ति पाउन गाउँ गाउँमा जाली तमसुक च्यात्ने जस्ता अभियानको नेतृत्व ने.का.ले गरेको थियो ।

वि.स. १९३८ तिर कृष्णप्रसाद भट्टराईले भन्सारको ठेक्का पाएका थिए । त्यसैबेला लुगाफाटो किन्न गएका नेपालीहरुको फाटेको भोटो र टोपी मागेर हुलाक बाट तत्कालिन शासक चन्द्र शम्शेरलाई “हेर तिम्रो देश र जनताको अवस्था यस्तो छ ” भनेर पठाएको पनि झन्डै एक शताब्दी हुन लागेको छ ।

मिति २०७७/५/१८ गते कान्तिपुरको पहिलो पृष्ठमा छापियो कि सुदुरपश्चिमको राजधानी धनगडी गौरीफन्टाको नाकाबाट एक सातामा एक हजार एक सय सात जनाको दरले नेपालमा गुजरा नभए पछि हातमुख जोर्नको लागि स्याउ टिप्ने काममा भारततर्फ जाँदै भनेर ठुलो लर्को लागेको तस्विर छापियो । यस बीचमा नेपाली काँग्रेसको सरकार पनि धेरै पटक बन्यो र त्यसमा पनि लामो समय तिनै कृष्णप्रसाद कोइरालाका कान्छा छोरा गिरीजाप्रसाद कोइरालाले शासन सम्हाले तर कृष्णप्रसाद कोइरालाले देखेको त्यो नेपालीको दयनीय र दर्दनाक अवस्था शाशंक र शेखर कोइरालासम्म पुग्दा पनि त्यो परिदृश्यमा फरक भेटिएन । अनि हामी कहाँ चुक्यौ ? भन्ने बहससम्म पनि वर्तमान नेतृत्वले छेडेको देखिदैन ।

बहुमतमा भएको सरकार आफैले ढालेर मध्यावधिमा गयौ । वि.स.२०५१ सालको चुनावमा हामी एक अर्काे ने.का. पार्टीका उम्मेदवार हराउन लाग्यौं । जसको परिमाण एमाले पार्टीको सरकार बन्यो । कृष्णप्रसाद भट्टराई जसलाई वी.पी.ले विश्वास गरेर पार्टी जिम्मा लगाउन भयो, उहाँलाई नै चुनावमा सूर्यमा भोट हालेर हरायौं । शेर बहादुर देउवाको सरकारलाई जिम्मेवार नेताले आफ्नै सांसद लुकाएर ढाल्यौ । वी.पी.ले पदसँग आफ्नो आस्था साँट्नु भएन । बरु सिधै प्रधानमन्त्रीबाट ८ वर्ष सुन्दरी जेलमा बस्नु भयो तर हामीले ५ वर्ष कुर्न सकेनौ ।

सम्पूर्ण प्रशासनिक, न्यायक, शैक्षिक आदी पक्षमा पुरानै धमिरा र खिया लागेको राज्य संयन्त्र लिएर परिवर्तनको सपना बोक्यौं । सरकार बलियो भएर हुँदैन । राज्य सयन्त्र बलियो हुनु पर्दछ । राज्य संयन्त्र हामीले नै कमजोर बनाएका छौ । न्यायालयमा जाने व्यक्ति पार्टीले छान्ने, विश्वविद्यालयमा जाने व्यक्ति पार्टीले छान्ने, प्रहरी प्रमुख पार्टीले छान्ने । अनि कसरी राज्य शक्ति बलियो हुन्छ ? यसरी वि.स.२०४६ सालको प्रजातन्त्रको जग कमजोर बनाउने काम हामीले नै ग¥यौं । जसको कारण वि.स. २०४७ सालको संविधान जोगाउन सकेनाैं ।

वि.स.२०६२/६३ को जनआन्दोलनबाट आएको लोकतन्त्रको रक्षा कवज बन्न सक्ने ठोस आधार अहिलेका नेताहरुबाट देखिएको छैन । हामीसँग आमचुनाव हुनु लगभग २ वर्ष बाँकी छ । अहिलेसम्म पनि हामी आपसी खिचातानीमा नै व्यस्त छौं । निश्चित छ, यही परिस्थति हाम्रा बीचमा रहिरह्यो भने वि.स.२०६२/६३ को जनआन्दोलनको उपलब्धी गुम्ने छ ।

वी.पी. कोइरालाले स्थापना गर्नु भएको पार्टी नेपाली काँग्रेस अहिले पनि नेपालको जिम्मेवार पुरानो र प्रमुख पार्टी हो । हरेक आन्दोलनको नेतृत्व नेपाली काँग्रेस पार्टीले गरेको यसको इतिहास छ । लोकतन्त्रप्रति प्रतिवद्ध भएकोले यो सबैको विश्वासिलो पार्टीको रुपमा जनताको मनमा गढेको छ । यो पार्टीमा राष्ट्रियता, लोकतन्त्र र लोकल्याणकारी राज्य (प्रजातन्त्रिक समाजवाद) जस्ता मुलभूत मूल्यमान्यता र जनताप्रति उत्तरदायी, बहुदलवाद, कानुनको शासन विधिको सर्वोच्चता, स्वतन्त्र न्यायालय एवं स्वतन्त्र प्रेस यसका आधारभुत दार्शनिक आधारले कांग्रेसलाई ढकमक्क फुलेको फूल जस्तो देखिन्छ । यस्तो अचुक मूल्य मान्यता र दर्शनको जगमा उभिएको पार्टी किन आज राजनीतिमा मियो नबनेर जनता समक्ष रक्षात्मक बन्दैछ ? यो प्रश्न पनि त्यतिकै उठेको छैन् ।
अहिले देखिएको ठुलो पार्टी नेकपाजस्तो सैद्धान्तिक बिचलन भएको, पार्टीका नेताहरुले जस्तो जनताका अगाडि बिहान एउटा कुरा अनि साँझ अर्को कुरा, दक्षिण जाँदा एकथरीको कुरा उत्तर जाँदा अर्कोथरीका शब्दहरु छानेर भाका मिलाएर बोल्नु परेको छैन । न अरु क्षेत्रीय पार्टी जस्तो स्वायत्त राज्यको एजेन्डा उठाउनुछ, न पञ्चको अवशेषलाई बोकेर भएपनि त्यहि बाटो ठीक हो भन्नु परेकोे छ ।

काँग्रेसले आफ्नो मुलभुत मूल्य मान्यता जे बोकेको छ, त्यसमा व्यक्तिगत लाभका आधारमा सम्झौता नगरे पुग्छ । पक्कै यात्रा कठिन र लामो छ । तर बाटो विशाल छ । फराकिलो छ र सिधा छ । त्यसमा नेतृत्ववर्गले हिड्न नसकेर होइन । अहिलेको नेतृत्व पनि संघर्षका दिन भोगेर आएको छ । मात्र चाहनाको कमी र हिड्न नजानेको कारणले वी.पी. दर्शन दुर्घटनामा परेको जस्तो देखिन्छ ।
कांग्रेसको तेस्रो पुस्ताका नेताहरु पार्टी सभापति शेर ब. देउवा र वरिष्ट नेता रामचन्द्र पौडेलले आत्म समिक्षा र आत्मआलोचना गर्दै वी.पी. ले देखाएको बाटोमा दुवैले काँधमा काँध मिलाएर पुराना स–साना मत मतान्तरलाई फालेर म होइन हामी, मेरो होइन हाम्रो, भन्ने भावनाका साथ आफू पछिको पुस्तालाई विश्वास दिलाउँदै हिँडे कांग्रेस फेरी जुरुक्क उठ्नेछ । लोकतन्त्रको रक्षाको लागि, देश विकासको लागि र नेपाली जनताको उन्नतिको लागि पनि यो अपरिहार्य छ । वी.पी. विचार मार्गमा दौड्न सक्नु नै शहिदप्रतिको न्याय हो । यो नै जननेता विश्वेश्वर प्रसाद कोइरालाप्रतिको सच्चा श्रद्धासुमन ठहरिनेछ ।

विश्वेश्वरप्रसाद कोइरालाको जन्म दिनको उपलक्ष्यमा उहाँप्रति श्रद्धा —कुसुमाञ्जली अर्पण गर्दछु ।

जय नेपाल !
शेर बहादुर भण्डारी
ने.का. केन्द्रिय संगठन विभाग सदस्य