

काठमाडौँ, २४ भदौ ।आदरणीय स्वामी श्री हरिदासजीको प्रेरणा एवं श्री राधा माधव समिति नेपालका अध्यक्षा संगीता दिदीको मार्गनिर्देशनमा श्री राधामाधव समिति नेपाल वागलुङ तथा पोखरा सत्संग केन्द्रले वागलुङ ढोरपाटन नगरपालिका वडा नम्बर ७ र ९ का बाढी पीडित परिवारलाई रु १ लाख राहत सेवा उपलव्ध गराएको छ ।

यस क्रममा ढोरपाटन नगरपालिका वडा नम्बर ७ का ३ परिवारलाई प्रति परिवार ५ हजार ले रु १५ हजार ,वडा नम्बर ९ का ३ परिवारलाई प्रति परिवार १० हजारले हुने रु ३० हजार , वडा नम्बर ९ कै १ परिवारलाई दाह संस्कारका लागि घाटमै रु ५०००। सीधै पीडित परिवारलाई र वडा नम्बर ९ कै बांकी पीडितलाई वितरण निम्ति रु ५० हजार वडा नम्बर ९ का अध्यक्ष हरिबहादुर घर्ती मगरलाई श्री राधामाधव समिति नेपाल वागलुङका सचिव दीपक प्रसाद शर्मा कंडेलले हस्तान्तर गर्नुभयो । उक्त राहत सेवा गण्डकी प्रदेशका सभासद् मणिभद्र शर्मा कंडेलको समुपस्थितिमा स्थानीय जनप्रतिनिधि तथा प्रशासनका प्रतिनिधिको रोहवरमा पीडित परिवार र स्थानीय वडाध्यक्षलाई हस्तान्तर गरिएको थियो । सो अवसरमा प्रदेश सभासद् श्री कंडेलले बाढी पीडितलाई प्रदान गरिएको राहत सेवा निम्ति श्री राधा माधव समिति नेपाललाई हार्दिक धन्यवाद ज्ञापन गर्दैे कष्टकर जीवन विताईरहेका पीडित परिवारको आजीविकालाई सहज बनाउन हार्दिकतापूर्वक सहयोगी हातहरु अघि बढाउन सम्वध्द सबै पक्षसंग हार्दिक आह्वान गर्नुभएको छ ।

स्मरण रहोस् भदौ १७ गते राती स्थानीय भूजीखोलामा आएको विनाशकारी बाढीबाट १४ जनाले ज्यान गुमाउनुका साथै ३६ जना वेपत्ता रहेको तथा ७६ घर पूर्ण रुपमा ध्वस्त भई अत्यधिक भौतिक क्षति भएको थियो यसअघि श्री राधा माधव समिति नेपाल वागलुङ सत्संग केन्द्रद्वारा निशिखोलाको बाढीबाट पीडित परिवारलाई रु २५०००। राहत सेवा उपलव्ध गराइएको थियो ।