बीपी अद्वितीय थिए र हुन्

बीपी अद्वितीय थिए र हुन्

-सराेज मिश्र-

बीपी जयन्तीका अवसरमा आज भन्दा ठिक चार बर्ष अघि अर्थात् सेप्टेम्बर ९, २०१६ का दिन यस्तो लेखेको रहेछु । आज पुन: दोहर्‍याउँदै छु । बीपी प्रति श्रद्धाञ्जलि !

“आज बीपी जयन्ती । नेपाली राजनीतिक इतिहासका शिखर ब्यक्तित्व बीपी कोइरालाका बारेमा शब्द खर्चिनु भनेको सुर्यलाई बत्ती दिनु, सागरलाई अर्घ्य चढाउनु वा पृथ्वीलाई फूल चढाउनु झैं हो । अरु कसैले फरक मत राख्दछ भने त्यो ती ब्यक्तिको हकको कुरो हो । म आफू चाहिँ आफैलाई बीपीको प्रशंसामा शब्द खर्चिन योग्य सम्झिन्न ।

बीपी प्रति ईतिहास वा नियतिले गरेको अन्याय र उनले गरेको अन्यायका (मेरो आफ्नो सम्झना) का बारेमा भने उल्लेख गर्न चाहन्छु ।

नेपाली कांग्रेसका चार तारा भनेर बीपी कोइराला, शुबर्ण शम्शेर जबरा, गणेशमान सिंह र सूर्यप्रसाद उपाध्यायलाई मानिन्थो । सुबर्ण शम्शेरलाई नेपाली कांग्रेसमा पुनर्स्थापित हुन निक्कै समय लाग्यो ।संभवत: सुबर्णजीको धनको निगाहाले दब्बिएका ब्यक्तिहरुको ठुलै जमात कांग्रेस भित्र नभएको भए आज पनि कांग्रेस कार्यालयमा उनको फोटो झुण्डिने थिएन । सूर्यप्रसाद उपाध्याय आज पनि कांग्रेसमा “गद्दार” हुन् । बीपीको आत्मकथा पढ्ने हो भने सूर्याबाबु गद्दार तर रमेशनाथ पाण्डे प्रतिभाशाली ठहरिन्छ्न् । ध्यान दिएर कांग्रेसको इतिहासलाई केलाउने हो भने कोइरालाको बिपक्षमा उभ्भिने सबै स्वत: खलनायकमा गनिन्छन् र बीपी लगायत समस्त कोइरालाहरुमा ‘हामी नभए अरु कोहि नहोस्, वरु बिपक्षीले नै खाओस्’ भन्ने स्पष्ट मानसिकता झल्किन्छ ।

यस अर्थमा बीपीलाई ‘महामानब’ भनेर भजन गाउने पक्षमा म छैन । उनी पनि मानबीय कमजोरीबाट ग्रस्त ब्यक्ति थिए । म यसरी भन्न किन सकिरहेको छु भने मलाई बीपीको नाममा मठ खोलेर मठाधिश बन्नु छैन र ‘बगेको गंगा’ मा हात डुबाएर फाइदा लिनु पनि छैन ।

यति भन्दा भन्दै पनि नेपालको राजनीतिक इतिहासमा बीपीको जत्ति स्वीकार्यता कसैको पनि थिएन र उनको उचाईको तुलनामा अरु कोहि पनि कुर्कुच्चा सम्म पनि पुग्दैन भन्न मलाई कुनै हिच्किचाहत छैन । विभिन्न कोणबाट आ आफ्नै स्वार्थ अनुरुप राजा महेन्द्र, पुष्पलाल वा मदन भण्डारीलाई उनको समकक्षमा उभ्याउने प्रयास भएको पाइन्छ । तर, यी कुनै पनि ब्यक्तित्त्वको तुलना बीपीसंग हुनै सक्दैन ।

नेपालको राजनीतिक इतिहासको सर्बाधिक शिखर पुरुष हुंदाहुंदै पनि बीपी इतिहासबाट त्यत्तिकै ठगिएका ब्यक्ति हुन् । नेपाली कांग्रेसको इतिहासमा राजनीतिक सकृयताका दृष्टिकोणबाट हेर्दा स्वयं बीपी, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको नाम लिनु पर्ने हुन्छ । त्याग, निष्ठा र बरियताको हिसाबले यी चार जना यहि क्रममा आउंछन् । तर राजनीतिक सफलतालाई मापदण्ड मान्ने हो भने यसलाई ठिक उल्टो क्रममा गन्नु पर्ने हुन्छ । सत्ता र शक्तिका हिसाबले गिरिजाप्रसाद सबैभन्दा सफल र त्यसपछिको क्रममा किसुनजी र गणेशमानजी आउंछन् । बीपीलाई सबैभन्दा ‘असफल’ मान्नुपर्ने हुन्छ । यसलाई बिडम्बना भन्ने कि इतिहासको क्रुरता भन्ने ??!!

जेसुकै भएपनि बीपी अद्वितीय थिए र हुन् । नेपाल राष्ट्र र बिबेकशील जनता उनी प्रति सदैब ॠणी रहने छ ।

‘ठूलो पनि नबन्नु, वीर पनि नबन्नु । असल मानिस बन्नु ।’ बीपीको यो भनाईलाई जीवन ब्यबहारमा उतार्ने र पछ्याउने सद्बुद्धी सबै नेपाली र बिशेषत: कांग्रेसजनलाई प्राप्त होस् ।”

-सराेज मिश्रकाे फेसबुकवालबाट