काठमाडौँ, १८ भदौ । ललितपुरमा शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले बल्खु पुलदेखि मनोहरासम्म र जिल्लाअन्तर्गत पर्ने चक्रपथभित्र लागू हुने गरी कर्फ्यू आदेश जारी गरेको हो ।
रातो मत्स्येन्द्रनाथको रथयात्रालाई लिएर पुल्चोक क्षेत्रमा दिनभर तनाव भएपछि भोलि कर्फ्यू आदेश जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतले जानकारी दिनुभयो ।
ललितपुरको अवस्थालाई सामान्य बनाउन कर्फ्यू जारी गरिएको र रथलाई पुल्चोकबाट ७ सय मिटर अघिसम्म तान्ने र २६ गते बुङ्मति लैजाने निर्णय भएको उहाँले जानकारी दिनुभयो । प्रहरीले अराजक क्रियाकलाप र प्रहरीमाथि हातपात गर्ने १० जनालाई नियन्त्रणमा लिएको छ ।