काठमाडौं, ११ भदौ । काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा बिहीबार आठौ दिन पनि जारी छ ।
कोरोना संक्रमितको संख्या बढेपछि काठमाडौका तीनवटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेका हुन् । निषेधाज्ञाका क्रममा बाहिरी जिल्लाबाट उपत्यका प्रवेशमा पूर्णरुपमा बन्देज गरिएको छ ।
त्यस्तै अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिएका छन् । सवारी साधनको सञ्चालन रोकिएको छ भने सर्वसाधारणको हिँडडुल प्रतिबन्धित छ । बिहानको केही घण्टा भने अत्यावश्यक दैनिक उपभोग्य सामानको बिक्री तथा खरिदका लागि खुला गरिएको छ ।
निषेधाज्ञाको उलंघन गर्नेको संख्या बढेपछि प्रहरीले उलंघन गर्ने मोटरसाईकल र चारपाङ्ग्रे सवारीलाई नियन्त्रणमा लिने गरेको छ । त्यस्तै अत्यावश्यक काम बाहेक बाहिर निस्किनेलाई केही समय होल्डिङ सेन्टरमा राखेर छोड्ने गरिएको छ ।
उपत्यकामा संक्रमितको संख्या बढ्दै गएपनि उपत्यकाका तीनवटै काठमाडौं भक्तपुर र ललितपुरको जिल्ला प्रशासन कार्यालयले भाद्र १७ गतेसम्म निषेधाज्ञा जारी गरेको छ ।