

काठमाडौं, ११ भदौ । दिनप्रतिदिन कोरोना संक्रमित बढेपछि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञाका क्रममा बिहानको समयमा खुल्ला हुने पसल बजारमा सर्वसाधारणको भीड हुँदा संक्रमण बढ्ने खतरा देखिएको छ ।

उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले बिहान सवा ९ बजेसम्म खाद्यान्न पसल खोल्न पाउने व्यवस्था छ । तर सो समयमा सर्वसाधारणहरुको बजारमा भिड देखिएको छ ।

बिशेषगरि तरकारी बजारमा सर्वसाधारणको निकै भिड हुने गरेको छ भने भौतिक दूरी कायम नहँुदा संक्रमणको जोखिम बढेको हो । बिहानको समयमा खाद्य पसलका साथै तरकारी, फलफूल लगाएतका पसलहरु खुल्ने गरेका छन् । त्यस्तै सडकछेउमा पनि तरकारी राखेर बिक्रिबितरण भइरहेको छ ।

अत्यावश्यक वस्तु र सेवामध्ये औषधि, पानी र स्वास्थ्य सामग्री बिक्री वितरण गर्ने पसल व्यवसाय जुनसुकै समयमा पनि निर्वाध खुला राख्न सकिने व्यवस्था प्रशासन कार्यालयले गरेपनि खाद्य वस्तु, दूध, फलफूल–तरकारी, माछामासु आदि बिक्री वितरण गर्ने पसलहरु बिहान सवा ९ बजेसम्म खोल्न सकिने व्यवस्था गरेको छ ।

