थप ८८५ सङ्क्रमितको पुष्टि, काठमाडौं उपत्यकामा ३०१ जना संक्रमित थपिए

थप ८८५ सङ्क्रमितको पुष्टि, काठमाडौं उपत्यकामा ३०१ जना संक्रमित थपिए

काठमाडौं, १० भदौ ।पछिल्लो २४ घण्टामा ८८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार २ सय ५३ जनाको परीक्षण गर्दा ८८५ जनामा संक्रमण देखिएको हो । बुधबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ ।

यस्तै गएको २४ घण्टामा तीन सय ८५ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या १९ हजार पाँच सय चार पुगेको छ। १४ हजार सात सय ३९ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै नाै हजार आठ सय ३२ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा ३०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र २३० जना संक्रमित थपिएका छन् । यस्तै ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै गएको २४ घण्टामा ११ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १७५ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।