आइतबार प्रतिनिधि सभा र राष्ट्रिय सभामा सांसदहरुले कुन–कुन भाषामा शपथ लिँदैछन् (हेर्नुहोस्)

आइतबार प्रतिनिधि सभा र राष्ट्रिय सभामा सांसदहरुले कुन–कुन भाषामा शपथ लिँदैछन् (हेर्नुहोस्)

काठमाडौँ- पर्सि अाइतबार दिउँसो ४ बजे प्रतिनिधिसभा र ५ बजे राष्ट्रियसभाको शपथ ग्रहण मातृभाषामा लिनका लागि ४० भन्दा धेरै निवेदन परेका छन्। संसद सचिवालयले नेपालीबाहेक अरु भाषामा शपथ लिन चाहने निर्वाचित सदस्यलाई शुक्रबारसम्म निवेदन दिन आह्वान गरेको थियो। 

प्रतिनिधिसभाका जेष्ठ सदस्य महिन्द्रराय यादवले बज्जिका भाषामा शपथ लिने भएका छन्।

उपेन्द्र यादव, महन्थ ठाकुर, उमाशंकर अरगरिया, चन्द्रकान्त चौधरी, दुलारीदेवी संग खत्त्वे, सुरेशचन्द्र दास, शरतसिंह भण्डारी, राजकिशोर यादव, रेणुकुमारी यादव, दिलकुमारी, मात्रिकाप्रसाद यादव, इन्दुकुमारी शर्मा र मिनाक्षी झाले मैथिली भाषामा शपथ लिने भएका छन्।

त्यस्तै, अनिलकुमार झा, प्रमोद शाह, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, अमृता अग्रहरी, रानी मण्डल र सरिता गिरीले हिन्दी भाषामा शपथ लिने भएका छन्।

मगर भाषामा ओनसरी घर्ती र वर्षमान पुनले शपथ लिनेछन् भने नेवारी भाषामा राजेन्द्र श्रेष्ठले शपथ लिने भएका छन्।

अवधि भाषामा मोहम्मद ईस्तियाक राईले शपथ लिनेछन्। भोजपुरी भाषामा प्रदीप यादव, एकवाल मियाँ, रामबाबु कुमार यादव, रामसहाय यादव र हरिनारायणप्रसाद रौनियारले शथ ग्रहण गर्ने भएका छन् ।

थारु भाषामा गंगा चौधरी, शान्ता चौधरी र रेशमलाल चौधरी शपथ लिनेछन् भने तामाङ भाषामा हितबहादुर तामाङले शपथ लिन निवेदन दिएका छन्। ऊर्दु भाषामा रुहिनाजले शपथ लिनेछन्।

त्यसैगरी राष्ट्रियसभामा वृशेषचन्द्र लाल, सुरेन्द्रकुमार यादव, प्रमिलाकुमारी र सूर्यनारायण यादवले मैथली भाषामा शपथ लिने भएका छन्।

हिन्दीमा रमेश यादव र बज्जिका भाषामा रामप्रीत पासवान शपथ ग्रहण गर्ने भएका छन् । संविधानअनुसार कुनै सदस्यले नेपाली बाहेक अरु भाषामा शपथ लिन चाहेमा भाषाको लिखित प्रतिसहित निवेदन दिनुपर्ने व्यवस्था छ।