हेलिकप्टरबाट पुग्यो हुम्लामा गाडी

हेलिकप्टरबाट पुग्यो हुम्लामा गाडी

राष्ट्रिय सडक सञ्जालले नजोडेको हुम्ला सदरमुकाम सिमिकोटमा हेलिकप्टरबाट गाडी पुर्याइएको छ । सुर्खेत विमानस्थलबाट सेनाको हेलिकोप्टर चार्टर गरेर सिमिकोट विमानस्थलमा गाडी ओरालिएको समाचार आजको नयाँपत्रिका दैनिकमा नरजन तामाङले समाचार लेखेका छन्।

 

सिमिकोट गाडी पुर्‍याउँदासम्म ३६ लाख ५० हजार रुपैयाँ खर्च भएको छ । हुम्ला सदरमुकाम सिमिकोटलाई कालिकोटबाट कर्र्णाली राजमार्ग र चीनको तिब्बतस्थित हिल्साबाट सीमा सडकले जोड्दै छ । उत्तरतिर हिल्साबाट नाम्खा गाउँपालिकाको ओखरथलासम्म ७१ किलोमिटर सडक बनेको छ । ९५ किमि लामो यो सडकले सिमिकोट जोड्न अझै २४ किमि बाँकी छ।

 

सुर्खेतबाट सिमिकोटसम्म दुई सय ९० किलोमिटर कर्र्णाली राजमार्ग निर्माणाधीन छ । यसमा कालिकोटको लालुबाट बाजुरा हुँदै हुम्लाको सिमिकोटसम्म एक सय ९६ किलोमिटर सडकको ट्रयाक खोल्ने काम भइरहेको छ, भने उता सिमिकोटबाट दक्षिणतिर खार्पुनाथसम्म ११ किमि सडक बनेको छ । त्यही सिमिकोट–खार्पुनाथ सडकमा गाडी चल्ने गरेका हुन् । यसमा तीन सय ५० रुपैयाँ भाडा लाग्छ ।