–अशोक घिमिरे–
ज्यामै मायाले मलाई सानबाबु भन्नु हुन्छ। त्यसदिनको कुरा सम्झिदा आँखामा झलझली वर्तमान भएर घुम्छ। हाम्रो गाउँ सानो भए पनि रमाइलो छ। केटाकेटी उमेरमा त तल्लो घर माथ्लोघर कहिले वरतिर कहिले परतिर गाउँ चहार्दा चहार्दै घाम डुब्छ। बालपनका दिनहरू चकचकमै बित्छन्। जीउभरी चोट खतका दाग बस्छन्। ‘चकचकेका चाकला डाम’ भन्ने उखानै छ।
गाउँमा खेतीबारीको काम अर्मपर्मले चल्छ। मेलापातमा हाँसो ठट्टा नि जम्केर चल्छ। चुट्का‚ दोहरी‚ सिलोक‚ उखान टुक्का र गाउँखाने कथा अड्का फुकाउ जस्ता घम्साघम्सीमै रोपाइँ सिद्धिन्छ। त्यसरी नै नालीबाली स्याारिन्छ। एकदिनको कुरा सबै मेलापात लागेपछि ज्यामैले भन्नु भो- “सानु! गाउँका सबै केटाकेटी आगनमा भेला पार।”
मैले सबैलाई डाकेँ। ज्यामैले जम्माजम्मी एघार टाउको गन्नु भो। सबैलाई मिचिमिची हातगोडा धुन‚ नाकमुख पखाल्न र दाँत दतिवनले माझेर कुल्ला समेत गर्न अह्राउनु भो।
घरको पालीमुनि बिछ्याएको गुन्द्रीमाथि लस्करै पलेंटी कसेर बसाउनु भो। हामी चाकलमाडी बस्यौँ। उहाँले नचली थुपुक्क बस्न आदेश गर्नु भो। ज्यामै चुलोतिर पस्नु भो।
त्यो दिन एघार दिन भा रै’छ हाम्रो घरको कोपिली गाई ब्याएको। कोपिलीले पाएको तारी बाच्छी बुर्कुसी मार्दै घरी आँगन घरी गोठ नाच्दै मस्केको हामी हेर्दै बस्यौँ।
ज्यामैले तुलसा मोठनिर मगमगी बास्ना आउने तात्तातो बिगौती पस्कनु भो। फुस्रेका पातमा सात भागका तीन लस्कर चोखो अलग्याउनु भो। के के भट्याउँदै देउपितृ‚ भूमे‚ कुल र आसेपासे मन्छाई चढाई गर्नु भो। सबै त हामी केटाकेटीलाई थाहा भएन तर त्यतिन्जेल हाम्रो नि मुख रसायो।
सालका दूनामा मीठो बिगौती हामीतिर लम्काउँदै सार्नु भो। हामी सबै तँछाड मछाड गर्दै खान थाल्यौँ। खुवाइ सकेपछि कथा हाल्छु भन्नु भो। हामीलाई झनै रमाइलो लाग्यो। बाबु नानीहरु हो! तिमेरू सबै कति जना? पालैसँग एकबाट गन्दै भन त। हामी आफू आफूलाई गन्दै गयौँ। हामी एघार पुग्यौँ।
ज्यामैले सोध्नु भो। म आज तिमीहरूलाई सीधा सोझा एघारजना गाउँलेको कथा सुनाउँछु है। सुन्ने हो?
एकै स्वरमा हामी चिच्चायौँ! सुन्ने हजुरमा। ध्यान लाएर सुन है-
ती गाउँलेहरू असाध्यै सोझा थिए। आफ्नो गाउँबाट तीर्थ जान बाटो लागे। बाटाखर्च चिउरा‚ मकै‚ सामल त कसैले पटुकीमा कसैले झोलामा पोको पारी बोके।
बाटो हिँड्नुअघि फलानु ढिस्कनु गन्दै औँला भाँचे। एघार घरधुरीका एघार गन्ती गरे। निकै लामो बाटो दिन बिताएरै पुगिने तीर्थ। बीचमा कहालीलाग्दो जङ्गल। वनको बीचमा फराकिलो खोला।
खोला तरेर ठाडै उकाली। कहिले तेर्सो त कहिले उकालो हुँदै पुगिन्छ। पहाडको शिखरमै पर्छ धाम। निकै बाटो काटेपछि तीमध्ये एकजनाले भन्यो- यो वनमा त बाघभालुले मान्छे खान्छ रे।
अर्कोले थप्यो मान्छे भुलाउने झार हुन्छ अरे। छोइयो भने बाटो भुलेर घुमेको घुम्यै भइन्छ रे। फेरि अर्कोले थप्यो- यो धमिलो खोलाले त मान्छे खान्छ अरे। एक एक गर्दै सबै बोल्दै गए। सबैको मनमा डर र शंकाको भूत सवारी भयो।
कोही पनि नछुट्ने गरी सँगसँगै हिँड्ने एकमतो गरे। यात्राको थकान चढ्दै गयो डर अझ बढ्दै गयो र शंका पनि थपिदै गयो।
जंगल आयो अघि बढे। धमिलो खोला पनि आयो । सबै मिलेर तरे। खोला पारी पुगेपछि शंका लाग्यो। हामीमध्ये कोही छुटेका त छैनौँ। एक आपसमा गणना गर्न लागे। दश मात्र पुग्छ। अर्को अघि सरेर गन्छ‚ दश मात्र पुग्छ। खोलाले त निलेन? बाघले त खाएन? शंका थपियो।
सबैले आलोपालो गन्दा पनि दशै पुग्छ। एघार त पुग्दै पुगेन। एउटा मान्छे हरायो। पक्कै हराएकै हो भन्ने चिन्तामा डुबेका बेला त्यही बाटो आउँदै गरेका साधु देखा परे।
साधुले यो रमिता टाढैबाट हेरिरहेका थिए। यस्तो दशा देखेर साधुले सबैलाई लहरै बस्न लगाए। उनले भने‚ “हेर बाबु हो! गन्नु पर्छ। मसँग लौरो छ। तिमीहरू टाउको थापेर बस।”
उनीहरूले त्यसै गरे। टाउकोमा लौरो लाग्दा एक दुई क्रमैले गन्दै गए। साधुले एघारका एघारैजना पुर्याइदिए। अन्त्यमा साधुले उनीहरूलाई सम्झाई बुझाई गर्दै भने-
तिमीहरू आफूले आफूलाई गन्न भुलेका हौ। आफूले आफूलाई कहिले नभुल्नू। शंका डर र होश हराएको मानिस यस्तै हुन्छ। मनको शंका‚ डर र बेहोशीका कारण आफूलाई बिर्सन्छ। विवेक प्रयोग गर्यो भने यस्तो भ्रममा परिँदैन।
सानुलाई यतिबेला ज्ञान भयो। संसार यस्तै अन्योल छ‚ अर्काको हिसाब राख्दाराख्दै मान्छेले आफूलाई बिर्सिन पुग्छ। अर्काको दोष औँल्याउँदा औँल्याउँदै आफ्नो दोष देख्दैन। यसरी मान्छेको जीवन बित्छ।
–म्यान्मा