

-रामचन्द्र दुलाल-
काठमाडौं, २८ साउन । पूर्व सूचना तथा सञ्चारमन्त्री तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले साउन २२ मा निधन भएका आफ्ना ८४ वर्षीय बुवाको शव त्रिवि शिक्षण अस्पतालले राति नै निकालेर लैजान बाध्य पारेको बताउनुभएकाे छ । बस्नेतका ८४ वर्षीय बुवाको निधनपछि दाहसंस्कारसमेत भइसकेको अवस्थामा ६ दिनपछि सरकारले कोरोना पुष्टि गरेपछि अहिले सिन्धुपाल्चोकको बाह्रबिसे क्षेत्र तनाव ग्रस्त बनेकाे छ।
पितृशाेककाे दु:खद अवस्थामा आफ्ना बुवाको मृत्युमा समेत राजनीति गर्न खोजिएको पूर्वमन्त्री बस्नेतले एक विज्ञप्ति निकाल्दै भन्नुभएकाे छ । राजनीतिक कुचेष्टासहित बुवाको शव पिसिआर रिपोर्टसमेत नआई जवरजस्ती अस्पतालबाट लगिएको भनेर आफूलाई बदनाम गर्न खोजिएको उहाँकाे गुनासो छ । उहाँले आफ्ना बुवाको मृत्यु कोरोनाले भन्दा दुवै मिर्गौलाले काम नगरेका कारण भएको बताउनुभयाे ।’वास्तवमा बुबाको मृत्यु दुवै किड्नी खराब भएकाले हो। उपचारमा संलग्न स्वास्थकर्मीले तुरुन्त शव निकाल्नु भन्दा पनि हामीले भोलिपल्ट बिहान ७ बजे मात्रै शव निकालेका थियौँ’, उहाँ भन्नुभयाे । ‘शिक्षण अस्पतालमा उपचारका लागि लैजाँदा सुरुमा पिसिआर नेगेटिभ देखिएको थियो।’
पहिलो उपचारपछि घरमै आराम गरिरहेको अवस्थामा स्वास्थ्यमा पुन: समस्या आएपछि मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्स प्लान्ट सेन्टरको आइसीयुमा भर्ना गरिएको उहाँले बताउनुभएकाे छ । त्यहाँ डाक्टरहरुको टिमले दुवै किड्नी ड्यामेज भएकाले मृत्यु भएको जानकारी गराएकाे बस्नेतले बताउनुभयाे । ‘डाक्टरले दुवै किड्नी ड्यामेज भएकाले निधन भएको बताएपछि हामीले अन्तिम संस्कारका लागि बाह्रविसे ल्याएका हौं’, उहाँले भन्नुभयाे ।
‘दुवै किड्नी ड्यामेज भएकाले मृत्यु भएको जानकारीपछि दाहसंस्कारमा धेरै शुभचिन्तक सहभागी भए।’ बस्नेतले मृत्यु भएको ६ घण्टामा आउने रिपोर्ट एक सातापछि सार्वजनिक गरिएकोमा आपत्ति जनाउनु भएकाे छ ।’नमुना लिएको ६ घण्टामा आउने रिपोर्ट कोरोना लागेर मृत्यु भएको भन्दै स्वास्थ्य मन्त्रालयबाट एक सातापछि समाचार सम्प्रेषण हुन्छ भने यसमा हाम्रो कुनै कमजोरी छैन’, उहाँले भन्नुभयाे, ‘यदि कोरोना संक्रमण नै थियो भने हामीलाई किन राति नै शव लैजानु भन्ने अमानवीय हर्कत भयो ?
सम्पुर्णमा अपिल !
हाम्रो ८४ वर्षिय पुजनिय पिताको मृत्युमा समेत राजनितिक कुचेष्टा सहित हस्पिटल बाट जबरजस्ती पि सि आर रिपोर्ट नआई शव लागिएको भन्ने भ्रामक समाचार सम्प्रेषण गर्ने सन्चार माध्यम प्रती गहिरो खेद प्रकट गर्दछौं। वास्तवमा बुबाको मृत्युु दुवै किड्नीको खराबीको कारणले यहि मिति २०७७/०४/२२ गते ११:४५ मा भएको थियो। उपचारमा सम्लग्न स्वास्थ टिमले तुरुन्त शव निकाल्नु भन्दा भन्दै हामीले भोलिपल्ट बिहान ७ बजे मात्र शव निकालेको सम्पुर्णमा जानकारी गराउदछौं । शिक्षण अस्पतालमा उपचारका लागि लैजादा उहाँको सुरुमा पीसीआर नेगेटीभ देखिएको थियो । पहिला उपचार पछि घरमै आराम गरिरहनु भएका उहाँको स्वास्थ्यमा पुन समस्या आएपछि मनमोहन कारडियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको आइसीयुमा भर्ना गरिएको थियो। डाक्टरहरुको टिमले दुवै किड्नी ड्यामेज भएकाले मृत्यु भएको हामीलाई जानकारी गराएपछि हामीले अन्तिम संस्कारका लागि बाह्रविसे ल्याएका हौं। दुवै किड्नी ड्यामेज भएको कारणले मृत्यु भएको जानकारी पछि दाहासंस्कारमा धेरै शुभचिन्तकहरुको सहभागिता रहेको थियो तर मृत्यु भएको ६ घण्टामा आउने रिपोर्ट एक साता पछि कोरोना लागेर मृत्यु भएको स्वास्थ्य मन्त्रालयबाट समाचार सम्प्रेषण हुन्छ भने यसमा हाम्रो कुनै कमजोरी नरहेको जानकारी गराउदछौं । यदि कोरोना संक्रमण नै थियो भने हामीलाई किन राती नै शब लैजान भन्ने अमानवीय हर्कद भयो ?
यस्तो छ बस्नेतको विज्ञप्तिः
म र परिवारका तर्फबाट धन्यवाद र अनुरोध
मेरा पूजनीय पिताजी खड्गबहादुर वस्नेतको स्वर्गारोहण भएको आज छैटौँ दिन हुँदै छ । यसैवेला सिन्धुपाल्चोकको बाह्रबिसे क्षेत्रमा आएको भीषण बाढी–पहिरोले धनजनको व्यापक क्षति भयो । बाटाहरू भत्किएर आवतजावतमा समेत कठिन भइरहेको छ । अन्तर्राष्ट्रिय रूपमा नै व्याप्त भएको कोरोनाभाइरस (कोभिड १९)ले नेपालका गाउँघर सबैतिर भय उत्तिकै छ । तर, पनि दिवंगत पिताजीप्रति श्रद्धाञ्जली अर्पण गर्ने, हामीप्रति स्नेह गर्ने, हाम्रो परिवारमा परेको दुःखमा सान्त्वना दिने शुभेच्छुक, नाताकुटुम्ब छरछिमेकी, विभिन्न पार्टीका साथीहरूले प्रतिदिन दिनुभएको सहानुभूतिका लागि हामी परिवारका सबै सदस्यहरू आभार प्रकट गर्दछौँ । प्राकृतिक विपत्तिको अवस्था, कोरोनाको भय, सामाजिक दूरी कायम गर्नुपर्ने बाध्यता, सरकारले गरेको लकडाउन, हामी आफैँ सचेत हुनुपर्ने अवस्था र आवतजावतमा पर्ने कठिनाइका कारण यहाँहरूले हाम्रो घर बाह्रबिसेसम्म आउने कष्ट गर्नुभन्दा आफ्नो घरमा नै बसेर हाम्रा पिताजीप्रति श्रद्धा व्यक्त गरी उपलव्ध प्रविधिमार्फत हामीलाई सान्त्वना प्रकट गर्नुभएमा हामी कृतज्ञ हुने थियौँ ।
प्रतिकूल अवस्थालाई अनुभव गरी टाढाबाट आउनुहुने हाम्रा शुभेच्छुकहरू, पार्टीका साथीहरू, नातासम्बन्धीहरू सबैमा घरसम्म आउने कष्ट नहोस् भनी हाम्रो तर्फबाट क्षमायाचना सहितविनम्र निवेदन गर्न चाहन्छु । धन्यवाद !
मोहनबहादुर बस्नेत
(केन्द्रीय सदस्य तथा खेलकुद विभाग प्रमुख नेपाली कांग्रेस)
तथा सम्पूर्ण परिवार बाह्रबिसे, सिन्धुपाल्चोक ।
२०७७।४।२७