-मोहन वैद्य-
अहिले दक्षिणपन्थी गठबन्धन जसरी भएको छ, कम्युनिष्टका नाममा, वामका नाममा यिनीहरुले विकास, समृद्धि अथवा हामीहरु कम्युनिष्ट हौं भनेर धेरैधेरै भन्दै आएका छन् ।
तर, एउटा कुरा के देखापर्यो भनेर भन्नुहुन्छ भने केपी ओली प्रधानमन्त्री हुनेवित्तिकै देउवा सरकारले पनि हात नहालेको काम भयो । नेकपाका कार्यकर्ता नेताहरुलाई पकड्ने काम भयो । कम्युनिष्ट भन्नेले कम्युनिष्टहरुलाई ।
कामरेड हेमन्तप्रकाश ओली र कामरेड पदम राई लगायतका साथीहरु एउटा सामान्य प्रकारको शान्तिपूर्ण कार्यक्रममा थिए ।
युवाहरुको भेला, सम्मेलनको कार्यक्रममा जाँदाखेरि, शान्तिपूर्ण तरिकाले काम गर्दाखेरि उहाँहरुले जुन धरपकड गर्नुभो, यसले के देखापर्छ भने देश र जनताको मुक्तितिर होइन, उहाँहरुले देशलाई फासीवादतिर लैजाँदै हुनुहुन्छ । उहाँहरु कम्युनिष्ट हो कि के हो भन्नेखालको कुरा प्रष्टै देखिन्छ ।
सानो ठूलो हुन्छ, ठूलो सानो हुन्छ । क्रान्तिकारीहरु सुरुमा सानै हुन्छन् । तपाईहरुले लक्ष्मीप्रसाद देवकोटा पढ्नुभएको होला, के नेपाल सानो छ ? भन्ने निबन्ध धेरै शानदार छ ।
जनयुद्ध लडेका हामीहरु, झापा विद्रोह गरेका नेताहरु, यही हो? कम्युनिष्ट हो कि हैन ? प्रष्टै देखिन्छ । त्यसकारणले कुरा के हो भने उहाँहरु(ओली र प्रचण्ड)को पतन निश्चित छ । अनिवार्य छ ।
हात्ती ठूलो छ कि मान्छे ठूलो छ भनेर भन्ने हो भने हात्ती ठूलो हुन्छ । आँखाको नानी झन् सानो हुन्छ । मुटुको टुक्रो झन सानो हुन्छ । सानोको मूल्य हुन्छ । ओज हुन्छ । गरिमा हुन्छ । फेरि त्यो सानो ठूलो हुन्छ ।
त्यसैले हामी ठूला छौं भनेर कुनै घमण्ड गर्नुपर्दैन । हामी क्रान्तिकारी भनेको आगोको झिल्को हो । निभ्दैन । माओले भनेको हामीलाई थाहा छ । एउटा सानो झिल्कोले सारा जंगलमा आगो लगाउँछ भनेर भन्या हो । हामी झिल्को हौं ।
त्यसकारण हामी हमेसा क्रान्तिकारी आशावादले समृद्ध हुनुपर्छ । हामी नेपाली कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाएर लैजाऔं । हामीले क्रान्ति गरौं । हाम्रो आदर्श हो साम्यवाद ।
पुँजीवादी जनवादी क्रान्ति पूरा भएको छैन । पुँजीवादी जनवादी क्रान्तिलाई पूरा गर्दै वैज्ञानिक समाजवाद र साम्यवादको दिशामा दृढतापूर्वक अगाडि बढौं । तपाईहरुले विद्रोह गर्नुभएको छ, संगठन बनाउनोस् । र, हामीले फेरि मिहेनत गरेर नेपाली कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाउने ऐतिहासिक मिसनमा हामी दृढतापूर्वक अगाडि बढौं ।
अब हामी सच्चा क्रान्तिकारी कम्युनिष्टहरु छितरिएर हुँदैन, एक ठाउँमा आउनुपर्ने हुन्छ । क्रान्तिकारीहरुको वीचमा एकता हुन जरुरी छ । एकतावद्ध हुन जरुरी छ । हामीले कोशिस गरिराखेका छौं ।
हामीले ऋषि कट्टेलजीसँग कुरा गरिराखेका छौं । हामीले मोहनविक्रमजीसँग पनि कुराकानी गरिराखेका छौं । र, सच्चा क्रान्तिकारी कम्युनिष्टहरुसँग हामीले यो अभियान अगाडि बढाइराखेका छौं ।
हामीले गोपाल किरातीजीसँग पनि कुरा गरिराखेका छौं । आहुतीजीसँग पनि कुराकानी भएको छ । लोकेन्द्र विष्टजीसँग त अझ अगाडिबाट कुरा हुँदै आइराखेको छ ।
(मोहन वैद्यले वाम एकता अनि सरकारले गरेको विप्लवका नेतामाथिको धरपकड’का बारेमा बोलेकाे अभिव्यक्तीका अाधारमा )