भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या २० लाख नाघ्यो, ४० हजारभन्दा धेरैको मृत्यु

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या २० लाख नाघ्यो, ४० हजारभन्दा धेरैको मृत्यु

काठमाडौँ, २३ साउन । कोरोना सङ्क्रमितको सङ्ख्याको आधारमा भारत विश्वको तेस्रो सबैभन्दा प्रभावित देश हो । भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या २० लाख नाघेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा थप ५८ हजारभन्दा धेरैमा कोरोनाको सङ्क्रमण भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै भारतमा सङ्क्रमितको कुल सङ्ख्या २० लाख २१ हजार चार सय सात पुगेको हो ।

गएको २० दिनमा सङ्क्रमण दुई गुणा भएको हो । यो दर अमेरिका र ब्राजिलको तुलनामा धेरै हो । सङ्क्रमितको सङ्ख्याको आधारमा भारतभन्दा अघि पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो नम्बरमा ब्राजिल छ ।भारतमा कोरोना सङ्क्रमणको कारण अहिलेसम्म ४० हजारभन्दा धेरैको मृत्यु भएको छ । मृतकको सङ्ख्याको आधारमा भारत विश्वको पाँचौँ सबैभन्दा बढी प्रभावित देश हो ।अहिलेसम्म विश्वभर एक करोड ९२ लाख ७२ हजारभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकोमा सात लाख १७ हजारभन्दा धेरैको मृत्यु भएको छ ।

त्यस्तै सङ्क्रमण पुष्टि भएकामध्ये एक करोड २३ लाख ७२ हजारभन्दा धेरै निको भइसकेका छन् ।एजेन्सी