पार्टीमा एकलौटी निर्णय गरेको भन्दै देउवाको प्रतिवादमा उत्रियो पौडेल समूह

पार्टीमा एकलौटी निर्णय गरेको भन्दै देउवाको प्रतिवादमा उत्रियो पौडेल समूह

काठमाडौँ, १५ साउन।नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवाले पार्टीमा एकलौटी निर्णय गरेको भन्दै सार्वजनिकरुपमा असन्तुष्टि जनाएको छ ।

पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै पौडेल समूहले सभापति देउवाले पद र प्रलोभन बाँडेर विधान र पार्टीको निर्वाचन आचार संहिताविपरीत काम गरेको आरोप पनि लगाएको हो । पत्रकार सम्मेलनमा पौडेलले वर्तमान सभापति शेरबहादुर देउवा कामचलाउ सभापति भएको उल्लेख गर्दै कामचलाउले सीमित काम मात्र गर्न पाउने बताउनुभयो । २०७६ फागुनमै देउवाको पदाधवि सकिएको उल्लेख गर्दै पौडेले विधान उल्लंघर गरी अन्धाधुन्ध तरिकाल पद र प्रलोभन बाँडेको आरोप लगाउनुभयो । पौडेलले पार्टी सभापति देउवाले पार्टीको विधान मिच्दै गएकाले त्यसको प्रतिरोध गर्नु परेको भन्दै प्रतिरोध अभियान १४ औं महाधिवेशनसम्म जारी रहने पनि स्पष्ट पार्नुभयो ।

सम्मेलनमार्फत पौडेल र महामन्त्री कोइरालाले हस्ताक्षर गरेको विरोधपत्रसमेत सार्वजनिक गरेको छ । विरोधपत्रमा देउवाले चालेको कदम तत्काल खारेज गर्नसमेत पौडेल पक्षका नेताहरुले माग गरेका छन् । पत्रकार सम्मेलनमा महामन्त्री डा शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरु अर्जुननरसिंह केसी, डा मिनेन्द्र रिजाल, चन्द्र भण्डारीलगायत उपस्थित थिए ।