

बझाङ,१३ साउन।कोरोना भाइरसको संक्रमणबाट बझाङमा एक बृद्धको मृत्यु भएको छ।
बझाङको बुङ्गल नगरपालिका ३ का ६५ वर्षीय बृद्धको कोरोनाबाट मृत्यु भएको हो। उनको साउन ९ गते मृत्यु भएको थियो। सोमबार साँझ आएको कोरोना रिपोर्टमा पोजिटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नारायण जोशीले बताए।
मृतकलाई १४ दिन क्वारेन्टाइन राखेर कोरोनाको कुनै लक्षण नदेखिएको भन्दै ६ साउनमा घर पठाइएको थियो। उनी असार २४ गते भारतबाट फर्किएका थिए।क्वारेन्टाइनमा रहँदासम्म उनलाई कुनै समस्या नदेखिएको कोरोना फोकल पर्सन जोशीले बताए। असार ९ गते एक्कासी स्वास फेर्न गाह्रो भएपछि उनको मृत्यु भएको जनाएको छ।
त्यसपछि उनको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो। डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा कोरोना संक्रमण देखिएको जोशीले बताए।उनको असार ९ गतेनै धार्मिक परम्पराअनुसार दाहसंस्कार गरिएको थियो। दाहसंस्कारमा सहभागीहरुको खोजी सुरु भएको छ। उनीहरुको पनि कोरोना परीक्षण गरिने फोकल पर्सन जोशीले बताए।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ।