९८ दिन सुत्केरी विदा कार्यान्वयन गर्न महिला समितिको सरकारलाई निर्देशन

९८ दिन सुत्केरी विदा कार्यान्वयन गर्न महिला समितिको सरकारलाई  निर्देशन

काठमाडौँ, ११ साउन।प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले ‘सुरक्षित मातृत्व तथा प्रजजन स्वास्थ्य अधिकार ऐन, २०७५’ को प्रभावकारी कार्यान्वयनका गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा आइतबार बसेको समिति बैठकले ऐनको प्रभावकारी कार्यान्वयनका निम्ति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रक्षा, गृह मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिइएको हो । समितिले सुरक्षित मातृत्व तथा प्रजजन स्वास्थ्य अधिकारको उपभोगमा कानूनबमोजिमको अभ्यास गर्ने व्यवस्था मिलाउन, आवश्यक संयोजन गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको छ ।

समिति सभापति निरुदेवी पालले महिलासम्बन्धी कानूनी प्रावधान बाझिएका कारण पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको भन्ने सन्दर्भमा यस्ता कानूनी प्रावधानको पहिचान गर्न तथा प्रभावकारी कार्यान्वयन नहुनुका कारणसमेत अध्ययन गर्न र सोको जानकारी समितिलाई गराउन राष्ट्रिय महिला आयोगलाई निर्देशन दिइएको जानकारी दिनुभयो ।

बैठकमा समिति सदस्यहरुले ९८ दिन बिदा पाउने कानूनी व्यवस्था सरकारी कार्यालयमा लागू भए पनि नीजि क्षेत्र वा दुर्गम क्षेत्रमा लागू हुन नसकेको बताउँदै कार्यान्वयनका लागि सम्बन्धित निकायले पहल गर्नुपर्नेमा जोड दिएका थिए ।