सरकारले कोरोना परीक्षणको दायरा फराकिलो नबनाएकोमा आपत्ति: सहमहामन्त्री डा. महत

सरकारले कोरोना परीक्षणको दायरा फराकिलो नबनाएकोमा आपत्ति: सहमहामन्त्री डा. महत

काठमाडौं,९ साउन ।प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारको लकडाउन खोल्ने निर्णय पूर्व तयारीका साथ गरेको नभएर राजश्व बढाउन गरिएको निर्णय भएको आरोप लगाएको छ ।

कांग्रेसको कोभिड १९ अनुगमन समितिले शुक्रबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै लकडाउन खोल्ने निर्णय राज्यले निर्वाह गर्नु पर्ने दायित्वबाट पन्छिने उद्देश्यबाट मात्र प्रेरित भएको समेत जनाएको छ ।

लकडाउनको अवधिलाई महामारी नियन्त्रण र यसपछि जनजीवन सुचारु गर्ने तर्फ पर्याप्त ध्यान नदिएको समितिको भनाई छ । पत्रकार सम्मेलनमा समितिका संयोजक एवं कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले लकडाउन खोल्ने निर्णय गर्दा सार्वजनिक स्थल, होटल, रेष्टुरेन्ट, कार्यालय, कलकारखाना व्यवसाय, शैक्षिक संस्थाहरु, सार्वजनिक यातायातहरुमा अपनाउनु पर्ने सुरक्षा प्रोटोकल र कार्यान्वयन गर्ने तयारीका बारेमा सरकार मौन रहेको बताउनुभयो । उहाले संक्रमणको क्रम नघटेको, वीरगञ्ज, राजविराज लगायतका ठाँउहरुमा देखिएको संक्रमणको प्रकृतिले, संक्रमण समुदायमा फैलिन सक्ने देखिएको भन्दै परिक्षण, ट्रेसिङ, उपचार, स्वास्थ्य उपकरण, जनशक्ति र स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षा र सुविधा प्रति सरकारको तयारी अत्यन्त निराशाजनक रहेको उल्लेख गर्नुभयो ।

कांग्रेसको पटक–पटकको ध्यानाकर्षणको वावजुद होल्डिङ सेन्टर, क्वारेन्टाइन केन्द्रहरुलाई मापदण्ड अनुरुप संचालन गर्ने र परिक्षणको दायरा फराकिलो पार्नु पर्ने आवश्यकतालाई सरकारले गम्भीरताका साथ नलिएको उहाले बताउनुभयो ।