नेकपा स्थायी कमिटी बैठक आइतबारसम्मका लागि स्थगित

नेकपा स्थायी कमिटी बैठक आइतबारसम्मका लागि स्थगित

काठमाडौं, २ साउन ।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक फेरि स्थगित भएको छ ।शुक्रबार बिहान ११ बजे बोलाएर दिउँसो ३ बजेसम्म स्थगित भनिएको बैठक फेरि आइतबारसम्मको लागि स्थगित भएको हो । पार्टी प्रचार विभाग उपप्रमुख सूर्य थापाकाअनुसार बैठक आइतबार दिउँसो ३ बजे बस्नेछ ।

नेकपाको विवाद मिलाउनका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सहमति हुन नसकेपछि पटकपटक बैठक स्थगन हुँदै आएको छ । यसअघि गत असार २६ गते डाकिएको बैठक देशभर भइरहेको अतिवृष्टि र सिन्धुपलाञ्चोकलगायत केही जिल्लामा जनधनको ठूलो क्षतिसमेत भइसकेका अवस्थामा सम्पूर्ण पार्टी पङ्क्तिलाई उद्धार एवं राहतमा लाग्न निर्देशन दिँदै आजसम्मका लागि बैठक स्थगन गरिएको सूचना पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्वीटमार्फत दिनुभएको थियो ।

आन्तरिक विवाद मिलाउन शीर्ष नेताको छलफल चलिरहेकाले बैठक पटकपटक सर्दै आएको छ । पार्टी र सरकारको समन्वयका विषयमा अध्यक्ष एवं प्रधानमन्त्री ओली र अर्का अध्यक्ष ¬दाहालबीच पछिल्ला दिनमा दैनिकजसो छलफल भए पनि निष्कर्ष निस्केको छैन । नेकपा स्थायी कमिटीको पाँचौ बैठक यही असार १० गतेदेखि जारी छ ।