प्रचण्ड र ओली कम्पनी जस्तो मुर्ख र हुस्सु त कोही पनि छैन : गोपाल किराँती

प्रचण्ड र ओली कम्पनी जस्तो मुर्ख र हुस्सु त कोही पनि छैन : गोपाल किराँती

नेकपा माओवादी केन्द्र र नेकपा एमालेबिच पार्टी एकता हुने सहमति भएदेखि नै माओवादी केन्द्रका केही नेताहरुले आपत्ति जनाउँदै आए । केही विरोधकाबिचमा पनि दुई दलबिच एकता प्रक्रिया अन्तिम चरणमा पुगेको छ । माओवादी केन्द्रका नेता गोपाल किराँतीले पार्टी एकता भएको मान्न नसकिने भन्दै प्रचण्डले माओवादी पार्टीलाई एमालेकरण गरेको अरोप लगाउँदै आएका छन् । उनले अब आफू माओवादी केन्द्र पुनर्गठनको अभियानमा लाग्ने बताएका छन् ।किराँतीसँग गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

 

तपाई के गर्दैहुनुहुन्छ ?
नेकपा माओवादी केन्दका अध्यक्ष प्रचण्ड र उनको कम्पनीले आफ्नो समुहलाई एमालेमा लगेर बुझाएको छ । प्रचण्डले एमालेकरण गरेको माओवादी केन्द्रलाई हामीले सम्हाल्ने प्रयास गरिरहेका छौँ । माक्र्सवाद, लेलिनवाद र माओवादको सिद्धान्त, पहिचानको मुद्दा र माओवादी केन्द्र हाम्रो हो । केही दिनमा प्रचण्डको पार्टी अहिलेको माओवादी केन्द्र रहँदैन ।

 

नेपालको कम्युनिष्ट पार्टीको नेतृत्व त प्रचण्ड र केपी ओलीले गर्दैछन् नि ?
प्रचण्ड र केपी ओली कम्युनिष्ट नै होइनन् । उनीहरुले माक्र्सवाद र लेलिनवादको अभ्यास नै गरेका छैनन् ।

 

प्रचण्ड कम्युनिष्ट होइनन् ?
गणतन्त्र निर्माणसम्म प्रचण्ड क्रान्तिकारी थिए । तर एमालेसँग सात बुँदै सहमति गरेपछि प्रचण्ड सकिए । प्रचण्ड दक्षिणपन्थी काण्डमा हाम्फालेका छन् । उनले जनयुद्ध शहिदको अपमान गरे ।

 

पार्टी एकता गर्दैमा सबै कुरा छोडे भन्न मिल्छ ?
एमालेले आफ्नो सिद्धान्त कायम गरेको छ । प्रचण्ड समुहले छोडेको छ । इतिहासमा ठूलो बेइमानी भएको छ । प्रचण्ड कम्पनी एमालेकरण भएर विलयमा जाने निश्चित भएको छ । अब हामी नेकपा माओवादी केन्द्र पुर्नगठन गछौँ ।

 

तपाईले पद नपाएका कारण प्रचण्डको विरोध गर्नुभएको हो ?
म सहजै मुख्यमन्त्री बन्न सक्थेँ । प्रतिनिधिसभामा पनि सुनसरी एकमा एमालेलाई छाडिदिएँ । प्रचण्डनिकट नेताहरुले राष्ट्रियसभा सदस्य बन्नका लागि पनि आग्रह गरेका थिए । मैले चाहिएन भनिदिएँ ।

 

समय र जनताको मागअनुसार पार्टी एकता हुँदा तपाईलाई किन आपत्ति ?
माओवाद र पहिचानको मुद्दा छोड्ने भनेपछि मेरो दिमागले काम गर्दैन । त्यसैले दक्षिणपन्थी काण्डमा म मिल्न सकिन ।

 

तपाईसँग जनता नै छैनन्, अबका दिनमा कसरी माओवादी केन्द्रलाई शक्तिशाली बनाउनुहुन्छ ?
अबका दिनमा मोहन वैद्य, नेत्रविक्रम चन्द, आहुतिलगायतका नेतासँग मोर्चाबन्दी गर्ने तयारी भइरहेको छ । क्रान्तिकारी खेमाको एउटा घटक हामी बन्छाैँ । क्रान्तिकारी विद्यार्थी संगठनबाट माओवादी पुनर्गठनको सुरुवाता गर्दैछौँ ।

 

मोर्चाबन्दीको अभियान कहाँ पुग्यो ?
फागुन एक गने जनयुद्ध दिवस हामीले मोहन वैद्यसँग मिलेर मनायौँ । त्यहीँबाट सहकार्य प्रारम्भ भएको छ । नेत्रविक्रम चन्दसँग भेट चाँही भएको छैन । भेटेर कुरा गर्ने तयारी गर्दैछौँ । अहिले त प्रचण्डले लथालिङ्ग पारेको पार्टीलाई पुनर्गठन गर्दैछौँ । अनेरास्ववियु क्रान्तिकारीको गरेर विद्यार्थी र युवाहरुबाट संगठनलाई आकार दिदैछौँ ।

 

आज हुने राष्ट्रिय भेलाले के गर्छ ?
भेलाले केन्द्रिय निकाय बनाउँछ । त्यसले देशव्यापी रुपमा पुनर्गठनको अभियान लिएर जान्छ ।

 

पार्टी चलाउन त धेरै गाह्रो छ नि ?
गाह्रो छ । कोसिस गर्नुपर्छ ।

 

प्रचण्डले चलाउन नसकेको पार्टी तपाइले कसरी चलाउनुहुन्छ ?
प्रचण्डले आफूलाई सम्भ्रान्त वर्गमा पतन गराउनुभयो । त्यसैले पार्टी चलाउन सक्नुभएन । मजदुर, किसान र सर्वहाराको प्रतिनिधि रहनुभएन । हामी सडकमा रहन्छौँ । सडकबाटै पार्टी चलाउँछौँ ।

 

सडकमा जाँदा जनताले साथ दिनुपर्यो नि ?
हामी अहिले नै हड्ताल गर्नका लागि सडकमा जाँदैनौँ । म टेम्पो र साझा बस चलाएर पार्टी चलाउने प्रयास गर्छु । जनता त सडकमा छन् नि ।

 

नारायणकाजी श्रेष्ठले पनि पहिला त्यस्तै भन्नुभाथ्यो । सक्नुभएन ?
उहाँले त नौटङ्की गरेको हो । प्रचारमा आउनका लागि तमासा गर्नुभएको हो । पछि महङ्गो गाडी लिनुभयो । मैले त केही गरेको छैन । गाडी लिनका लागि त लुट्नुपर्छ । मैले लुट्ने काम गरेको छैन । सच्चा सर्वाहारावादी, आदर्शवादी संगठन हामी निर्माण गर्छौँ ।

 

प्रचण्ड र ओलीले पनि पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने भएका छन् । मार्गदर्शक सिद्धान्त त माक्र्सवाद र लेलिनवादलाई नै मान्नुभएको छ नि ?
यो त जनतालाई ढाँट्नका लागि मात्रै हो । अहिले जनता कम्युनिष्ट पार्टीप्रति आकर्षित छन् । अर्को नाम राख्यो भने जनतालाई ढाँट्न पाइदैन । अब हाम्रो नाम चोरेको भनेर विम्लभ समुहले ठोक्ने, निर्वाचन आयोगमा ऋषि कट्टेलले ठोक्ने, प्रचण्ड कम्पनी र ओली कम्पनी जस्तो मुर्ख र हुस्सु त कोही पनि छैन ।

 

-किराँती सँग ऋषि धमलाले गरेकाे कुराकानी रिपोर्टस नेपालबाट साभार