एनआरएनएलाई आइएलओको पाँच करोड बढी सहयोग

एनआरएनएलाई आइएलओको पाँच करोड बढी सहयोग

टेक्सस (अमेरिका), २१ असार । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) सँग गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले सहकार्य अघि बढाएको छ । आइएलओले गैरआवासीय नेपाली सङ्घलाई चार लाख २४ हजार ३१० अमेरिकी डलर सहयोग गरेको छ । उक्त रकम अहिलेको विनिमय दरको हिसाबले रु पाँच करोड १० लाखभन्दा बढी हो ।

सङ्घका कोषाध्यक्ष महेश श्रेष्ठका अनुसार आइएलओबाट प्राप्त अनुदान कोभिड–१९ भाइरसका कारण प्रभावित विभिन्न देशमा रहेका नेपाली श्रमिकको सहयोगमा खर्च गरिनेछ । श्रम गन्तव्य मुलुक मलेशिया, संयुक्त अरब इमिरेट्स, कतार र साउदी अरेबियामा रहेका नेपाली श्रमिकको सहयोगमा अनुदान रकम उपयोग गरिने सङ्घले जनाएको छ ।

कोरोनाका कारण श्रम गन्तव्य मुलुकमा रहेका नेपालीहरु बढी प्रभावित छन् । कोरोना सङ्क्रमणका साथै रोजगारी गुम्ने दर पनि ह्वात्तै बढेको छ । बेरोजगार भएर बसेका नेपालीहरुलाई नेपाल फर्काउने क्रम पनि चलिरहेको छ । त्यस कार्यका लागिसमेत आइएलओको सहयोग उपयोग गर्न सकिने सङ्घले जनाएको छ । रासस