–सबिता आचार्य (मॉता)–
श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७७ साल आषाढ महिनाको १७ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत जुलाइ महिनाको १ तारिख, बुधवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ (एक अर्व ९५करोड, ५८ लाख ८५ हजार १२१ वर्ष) वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१ औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।
आज हरिशयनी एकादशीव्रतका साथै तुलसी रोप्ने दिन पनि हो । तुलसीपुजा असार शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्मको समयलाई चतुर्मास भनिन्छ । साथै कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधीनी एकादशीको दिन तुलसीको दामोदरसँग विवाह गरेपछि चतुर्मास सम्पन्न हुन्छ ।
बिष्णु भगवान क्षीर सागरमा सुतेको बेला अर्थात् चर्तुमाशभरि कुनै पनि मङ्गल कार्यहरुजस्तै बिवाह,व्रतबन्ध आदिको लगन हुँदैन । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशी पश्चात् मात्र मङ्गल लगन तथा मुहुर्तहरु हुन्छन् । आकस्मिक दुर्घटना,चोटपटकबाट बच्न,धन सम्पन्न र प्रसन्नताका लागि तुलसीको पूजाको महिमा रहेको छ ।
तुलसीको सेवन गर्दा ध्यान दिनु पर्ने महत्वपूर्ण कुरा यस्को पातलाई कहिले पनि दाँतले चपाउनु हुँदैन । सीधै निल्नु नै उत्तम मानिन्छ यसरी तुलसीको पातको सेवन गर्दा धेरै रोगहरुबाट मुक्ति पाउने विश्वास गरिन्छ । तुलसीको पातमा पारा धातु भन्ने तत्व रहने हुँदा यसलाई रोग विनाशक मानिन्छ । यदि यस्को पात दाँतले चपाएर निलेको खण्डमा दाँतको लागि भने हानीकारक मानिन्छ त्यसैले पनि पात नचपाई सर्लक्कै निल्नु नै उचित मानिन्छ ।
शिवपुराणमा उल्लेख भए अनुसार शिवलिंगमा कहिले पनि तुलसीको पात चढाउनु हुँदैन र यसको बारेमा एउटा कथा कोरिएको छ कथाका अनुसार सत्ययुगमा दानव राजा शंखचुडकी धर्मपत्नीको नाम तुलसी थियो ।
तुलसीको पतिब्रत धर्मको शक्तिका कारण सबै देवी देवता शंखचुडलाई हराउन असमर्थ थिए त्यही कारण भगवान विष्णुले छल गरेर तुलसीको प्रतिबत धर्म भंग गरिदिए त्यसपछि भगवान शिव शंखचुडलाई बध गर्न सफल भए । जब यो रहस्य तुलसीलाई थाहा भयो तब उनले भगवान विष्णु ढुंगा अर्थात् पत्थर र झार हुने श्राप दिइन् त्यो श्रापलाई स्वीकार गरेर भगवान विष्णु नेपाल र विशेषत गण्डकी क्षेत्रमा रहनु भएको विश्वास गरिन्छ ।
त्यसै पनि भगवान विष्णुको पत्थररुप शालीग्राम कालीगण्डकी नदी आसपासमा मात्र पाइने गरिन्छ र जुन सत्यलाई संसारका हिन्दूले स्वीकारेका छन् अर्को श्राप झार हुनु परोस भनेर दिएपछि भगवान विष्णु तुलसीको वृक्ष बनेर रहनु भएको विश्वास गरिन्छ । यसपछि अधिकांश पूजाआजामा तुलसीको उपयोग विशेषरुपमा गरिन्छ तर शंखचुडको पत्नी भएको कारण तुलसीको पात शिवलिंगमा भने कहिल्यै पनि चढाइदैन ।
तुलसीको पात केही खास दिन भने चुँडनु हुँदैन र एकादशी, आइतबार,सूर्य र चन्द्रग्रहण लागेको समयमा तुलसीको पात दिन वा रात जतिखेर चुँडे पनि अनिष्ट हुने मान्यता छ। विना कारण तुलसीको पात कहिले पनि चुँडनु उचित मानिन्न अनावश्यकरुपमा तुलसीको पात चुँडे तुलसीको वृक्ष नष्ट गरे बराबरको पाप लाग्ने मान्यता छ । हरेक दिन तुलसीको पूजा गर्नु उत्तम र लाभदायी मानिन्छ । हरेक साँझ तुलसीको मठमा दियो जलाउनु पर्छ भन्ने मान्यता समेत रहिआएको छ यसो गर्दा माता महालक्ष्मीको कृपा सदैव रहने विश्वास छ ।
तुलसी लगाउनाले घरको वास्तु दोष हट्ने विश्वास गरिन्छ र घर आँगनमा तुलसी लगाउँदा वास्तु दोष समाप्त भएर जाने विश्वास गरिन्छ । तुलसी रोप्नाले परिवारको आर्थिक स्थितिमाथि पनि शुभ प्रभाव पर्ने मान्यता छ । तुलसी लगाएको घरमा कसैको पनि खराब नजर नपर्ने मान्यता छ साथै घर आसपासमा कुनै पनि प्रकारको नकारात्मक उर्जा पनि नपलाउने र सकारात्मक उर्जा वृद्धि हुने विश्वास गरिन्छ ।
तुलसी लगाइएको घर वरपरको वातावरण पनि पवित्र हुने मान्यता छ र तुलसी लगाउनाले हानिकारक सुक्ष्म किटाणुहरुले पनि घरमा वास पाउँदैनन् । यही पवित्रताले घरमा माता लक्ष्मीको वास सहज हुने विश्वास गरिन्छ । जस्को कारण घरको सुख र समृद्धिमा वृद्धि हुने मान्यता चलिआएको छ!! घरमा भएको तुलसीको मठमा तुलसीको वृक्ष केही कारण सुकेको खण्डमा त्यसलाई घरमा राख्नु उचित मानिन्न । तुलसीको वृक्ष सुकेको खण्डमा त्यसलाई पवित्र नदी तथा तलाउमा प्रवाहित गरिदिनु पर्छ तुलसीको सुकेको वृक्ष राखे घरमा अशुभ हुने मान्यता छ । तुलसीको वृक्ष सुकेको खण्डमा अर्को स्वस्थ्य वृक्ष राख्ने सुझाव शास्त्रमा दिइएको छ ।
आयुर्वेदमा तुलसीलाई औषधि अर्थात सञ्जीवनी वुटी समान मानिएको छ । तुलसीमा पाइने यस्ता धेरै गुण छन जस्ले धेरै विमारीहरुलाई टाढा राख्न सहयोग गर्छ । धेरै रोगहरुका लागि प्रतिरोधात्मक क्षमता तुलसीको पातमा हुन्छ तुलसीको वृक्ष घरमा लगाउनाले तुलसीको वास्ना हावामा फैलदा विरामी फैल्याउने धेरै किटाणुहरु यस्को क्षमताले नष्ट हुन जान्छन ।
विशेष दिन बाहेक अन्य दिन चुँडेर राखेको तुलसीको पात हरेक दिन सेवन गर्दा श्वासप्रश्वाससंग सम्बन्धित सबै रोगहरुबाट छुटकारा पाइने मान्यता छ । तुलसीको पात सेवन गर्दा विरामी हुनबाट वच्न सकिन्छ भने मौसम परिवर्तनबाट हुने विमारहरुबाट पनि बच्न सकिन्छ । तुलसीको पातमा हुने औषधीय गुणले मानिसको शरीरमा हुने रोग प्रतिरोधात्मक शक्तिलाई थप बढाउने हुँदा हरेक दिन तुलसीको पात सेवन गर्न उत्तम मानिन्छ ।
९८४२२१७१६२