पूर्वमन्त्री बस्नेतद्वारा सिन्धुपाल्चोकमा पिसिआर मेसिन उपलब्ध गराउने घोषणा: भन्छन्- ‘बेसार र हाछ्युले कोरोना टर्दैन’

पूर्वमन्त्री बस्नेतद्वारा सिन्धुपाल्चोकमा पिसिआर मेसिन उपलब्ध गराउने घोषणा:  भन्छन्- ‘बेसार र हाछ्युले कोरोना टर्दैन’

-रामचन्द्र दुलाल-

सिन्धुपाल्चोक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पुर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकमा पिसिआर मेसिन उपलब्ध गराउने घोषणा गरेका छन्। शनिबार एक विज्ञप्ति जारी गर्दै नेता बस्नेतले यस्तो प्रतिबद्धता जनाएका हुन्।

बढ्दो कोरोना संक्रमणका बेला सरकारले परिक्षणको दायरा बढाउन नसकेकोले व्यक्तिगत रूपमा मेसिन किन्न लागेको बस्नेतले जानकारी दिए । ‘कोरोना संक्रमित बढिरहका छन्, सरकारले नियन्त्रण गर्न सक्ने आधार देखाएको छैन’ उनले भने,– ‘त्यसैले आफुले कोरोना परिक्षण मेसिन ल्याउन लागेको हुँ।’

विदेशबाट भित्रिनेलाई उचित क्वारेन्टाइनको व्यवस्था नहुनु, परिक्षणमा ढिलाइ हुनु, आशंका गरिएका व्यक्तिहरूको परिक्षण हुन नसक्नु, कन्ट्राक ट्रेसिङमा ध्यान नदिनु, स्वास्थ्य सामाग्री उपलब्ध नहुनु कोरोना महामारीका बेलामा सरकारबाट भ्रष्टाचारको गन्द आएका कारणले सरकारले कोरोना नियन्त्रण गर्न नसक्ने बस्नेतले बताएका छन् ।

‘बेसार पानी खानु, हाछ्यु गर्नु, कोरोना फाल्नु, घरमा बस्नु’ भन्ने जस्ता सरकारी रवैयाबाट कोरोना महामारी व्यवस्थापन र समाधान नहुने हुँदा जनस्तरबाटै सक्रिय भूमिका खेल्नुपर्ने आवश्यकता देखिएको हुँदा कोरोना परीक्षणको अत्याधुनिक उपकरण यथाशिघ्र व्यवस्था गर्न लागेको उनले जानकारी दिए ।

सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाह्रविसे अस्पतालमा मेसिन राख्ने नेता बस्नेतले बताएका छन् । ‘सरकारले कोरोना परिक्षण मेसिन ल्याउदा कोरोना समुदाय स्तरमै फैलिनसक्छ। त्यसैले आफ्नो जिल्ला कोरोना परिक्षण मेसिन ल्याउन लागेको हुँ’– उनले भने।

यस अघि पुर्व मन्त्री बस्नेतले जिल्लामा कार्यरत ६ सय १३ जना स्वास्थ्यकर्मीहरुको१ लाख रुपियाँ बराबरको कोरोना बिमा गरिदिएका थिए । त्यस्तै कोरोना संक्रमणबाट ज्यान गुमाएकी सुत्केरी महिलाको शिशुलाई पालनपोषणका लागि १ लाख रुपैयाँ सहयोग गरेका थिए । जिल्लाका सबै स्वास्थ्य संस्थाहरुलाई पीपीइ सेटलगायत अन्य स्वास्थ्य सामग्रीहरु समेत बस्नेतले प्रदान गरेका छन् ।