कोरोना कालमा पत्रकार महासंघले सरकारलाई गर्यो यस्तो अपिल (भिडियो)

  • 31
    Shares
कोरोना कालमा पत्रकार महासंघले सरकारलाई गर्यो यस्तो अपिल (भिडियो)

काठमाडौं, १४ असार । नेपाल पत्रकार महासंघले श्रमजीवि पत्रकारहरुलाई बेरोजगार बनाउने काम भइरहेको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई ६ बुँदे सुझाव सहित ज्ञापनपत्र बुझाएको छ । आइतबार नेपाल पत्रकार महासंघका अध्यक्ष, उपाध्यक्ष लगायत पदाधिकारीको टोलीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका निमित्त सचिव राधिका अर्याललाई उक्त सुझाव हस्तान्तरण गरेको हो ।

महासंघले कोरोना भाइरसका कारण सिर्जित जटिल परिस्थितिमा सञ्चार क्षेत्रले भोग्नुपरेको प्रमुख समस्याको समाधान तथा सञ्चार क्षेत्रका नीतिगत र कानुनी विषयमा ६ बुँदे सुझाव पेश गरेको हो । सुझाव हस्तान्तरण् गर्दै महासंघका अध्यक्ष गोविन्द आचार्यले हाल सरोकारवाला पक्ष र विज्ञसँग छलफल गरी तयार पारेर मन्त्रालयलाई हस्तान्तरण गरिएको नेपाल सार्वजनिक सेवा प्रसारण विधेयकको नमुना मस्यौदालाई मन्त्रालयले प्रक्रियागत रुपमा अघि बढाउने विश्वास व्यक्त गर्नुभयो ।

कोरोना संक्रमणको यस अवधिमा केही सञ्चारगृहमा श्रमजीवी पत्रकारहरुलाई दवावपूर्ण वेतलबी विदामा राख्ने, पाउनुपर्ने पारिश्रमिक नियमित भुक्तानी नगर्ने तथा काम गर्ने वातावरण नवनाउने तथा मिडिया हाउस बन्द गरेर श्रमजीवी पत्रकारलाई विचल्ली पार्ने जस्ता समस्या देखिएको जनाउँदै महासंघले यसलाई तत्काल रोकी श्रमजीवी पत्रकार ऐन र नियमावली बमोजिम सेवा सुविधा उपलब्ध गराउन आवश्यक पहलका लागि मन्त्रालयलाई आग्रह गरेको अध्यक्ष आचार्यले बताउनुभयो ।

महासंघको केन्द्रीय उपाध्यक्ष दिलिप थापामगरले केहि सञ्चार गृहले कोडिड १९ को बहानामा श्रम जीवि पत्रकारहरुलाई बेरोजगार बनाउने काम भइरहेको भन्दै हाल मिडियामा देखिएको समस्याहरुलाई गम्भिर रुपमा लिएर तत्काल सम्बोधन गर्न माग गर्नुभयो ।

महासंघका महासचिव रमेश विष्टले देशभरका सञ्चार गृहहरुमा अनुगमन गर्दा कोरोनाका कारण नेपालका सञ्चार क्षेत्र संकटपूर्ण अवस्थामा गुज्रिरहेको देखिएको बाउनुभयो । उहाँ श्रमजीवि पत्रकारहरु कोहि पनि बेरोजगार बन्न नपराेस् भन्दै दबाब मुलक आन्दोलनका कार्यक्रमहरु गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

त्यसैगरी महासंघका सचिव प्रकाश थापाले संकटपूर्ण अवस्थामा अग्रपंक्तिमा रहेर काम गरिरहेका सञ्चारकर्मी तथा सञ्चार प्रतिष्ठानहरुमा परेको प्रभाव र असरबारे अल्पकालिन र दीर्घकालिन योजना तय गर्न सञ्चार मन्त्रालयलाई आग्रह गरेको बताउनुभयो ।

कोरोनाका कारण केहि सञ्चार गृहमा श्रमजीवि पत्रकारहरुलाई दबाबपूर्ण रुपमा बेतलबी विदामा राखिएको तथा समयमा तलब भुक्तानी नगरेको देखिएको भन्दै श्रमजीवि पत्रकार ऐन र नियमावली बमोजिम सेवा सुविधा उपलब्ध गराउन आवश्यक पहल गरिदिन आग्रह गरेको छ । महासंघले पत्रकार दुर्घटना विमालाई थप विस्तार गरी स्वास्थ्य बिमा र जीवन बिमाको व्यवस्था गर्नुपर्ने लगायतका माग गरेको छ ।