नर्भिकमा १ सय ६८ किलोकी महिलाले जन्माइन् स्वस्थ शिशु, नेपालकै प्रशूती इतिहासमा पहिलो रेकर्ड

  • 135
    Shares
नर्भिकमा १ सय ६८ किलोकी महिलाले जन्माइन् स्वस्थ शिशु, नेपालकै प्रशूती इतिहासमा पहिलो रेकर्ड

काठमाडौं, १३ असार । नेपालकै प्रशुती इतिहासमा पहिलो पटक १ सय ६८ किलो तौल भएकी काठमाण्डौ निवासी एक महिलाले स्वस्थ बच्चा जन्माएकी छन् ।

काठमाण्डौको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा असार १० गते काठमाण्डौ कलङ्की निवासी मेरिना हमालले शल्यक्रिया मार्फत २ दशमलव ९५ किलो तौल भएकी शिशुलाई जन्म दिएकी हुन् । बरिष्ठ स्त्री रोग तथा बाँझोपन बिशेषज्ञ एवं ल्याप्रोस्कोपिक सर्जन डा. नुतन शर्माले सफलतापुर्वक ती महिलाको शल्यक्रियात्मक प्रशुती गरेकी हुन् ।

नवजात शिशु र आमाको अवस्था सामान्य रहेको नर्भिक अस्पतालले जनाएको छ । डा. शर्माको नेतृत्वको चिकित्सकीय टोलीले करिब एक घण्टा १० मिनेट लगाएर शल्यक्रिया गरेको थियो ।
असाधारण तौल र शारिरीक वनावटका कारण निकै कठिन भएपनि उच्च सावधानिपूर्वक ती महिलाको शल्यक्रिया मार्फत प्रशुती गराइएको डा. शर्माले बताइन् ।

सामान्यतः यति ठुलो तौल र शारिरीक बनोट भएका महिलाको शल्यक्रिया मार्फत प्रशुती गराउनु आफैमा निकै कठिन हुने चिकित्सकहरुको भनाई छ ।

नेपालकै प्रशुती इतिहासमा १ सय ६८ किलो तौल भएकी महिलाको शल्यक्रियात्मक प्रशुती गराइएको यो पहिलो रेकर्ड हो । डा. शर्माले गर्भाधानको शुरुवाती अवस्थादेखी नै ती महिलालाई उच्च जोखिम समुहमा राखेर उपचार गर्दै आएको बताइन् ।

यो सफलताले केवल मोटोपन मात्रै गर्भाधानको बाधक हुन सक्दैन भन्ने देखाएको छ, डा. शर्माले भनिन–जटिल र जोखिम अवस्थालाई पनि आधुनिक प्रविधि र दक्षताले सम्भव गराउन सकिन्छ भन्ने प्रमाणित गरेको छ ।

लामो समयदेखी बाँझोपनको क्षेत्रमा उच्च जोखिमयुक्त बिरामीको उपचार गर्दै आएकाले पनि जटिल र जोखिमयुक्त प्रशूति सेवालाई सफलतापूर्वक व्यवस्थापन गर्न सकिएको डा. शर्माले बताइन ।
नर्भिक अस्पतालले नेपालकै पहिलो रेकर्डका रुपमा रहेको जटिल खाले शल्यक्रियात्मक प्रशुती गराउन सफलता प्राप्त गरेकोमा डा. नुतन शर्मालाई बधाई दिदै नवजात शिशु र आमाको स्वास्थ्य लाभको कामना गरेको छ ।