काठमाडौं, १२ असार । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० परियोजना, सरकारको काम, रुकुम घटनालगायतका बारेमा छलफल गर्न सत्तारुढ नेकपाको स्थायी कमिटि बैठक आज पनि बस्दैछ ।
बैठकमा स्थायी कमिटिका सदस्यले यसअघि तय भएका एजेण्डाका बारेमा आआफ्नो धारणा राख्नेछन् । आजकालागि बोलाइएको बैठकमा मुख्यगरी पार्टी सञ्चालनको बारेमा समीक्षा हुने र एमसीसीको बारेमा निर्णय हुने बताइएको छ ।
बुधबार पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले धारणा राख्नुभएपछि शुक्रबारसम्मका लागि बैठक स्थगित गरिएको थियो । बुधबार दुई अध्यक्षले मात्र सम्बोधन गर्नुभएको बैठकमा आजदेखि सदस्यहरुले पेश गरिएको एजेण्डामाथि धारणा राख्ने बताइएको छ ।
बुधबारको बैठकले कोभिड –१९ को नियन्त्रण, रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधान, सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र साङ्गठानिक एकताका बाँकी काम, एमसिसी र विविध कार्यसूची अनुमोदन गरेको थियो ।