

काठमाडौं, ७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिरोधी क्षमता बढाउन आफूले गरेको आग्रहलाई मजाकमा नउडाउन आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समितिले आइतबार आयोजना गरेको भर्चुअल कार्यक्रममा प्रधानमन्त्री ओलीले भान्सामा प्रयोग गर्दै आएका बेसार, अदुवा, मेथी जस्ता मसला औषधिमय भएको पूर्वज ऋषिमुनि र आयुर्वेदको खोज तथा प्रयोगबाट प्रमाणित भएको बताए ।
‘मैले शरीरको प्रतिरोधी क्षमता बढाउने सन्दर्भमा ती कुराहरु गरेको हुँ, कतिपय बुद्धिजीवीले बेसारको मजाक उडाए, कतिले मेथी, मरिच र कतिले अदुवाको मजाक उडाए’ उनले भने, म उहाँहरुलाई सुझाव दिन चाहान्छु, पूर्वजका खोजहरुप्रति यसरी मजाक नउडाऔँ । आयुर्वेद र योग हाम्रा असाधारण औषधि हुन् । यिनीहरुलाई अगाडि बढाऔँ ।’
प्रधानमन्त्री ओलीले नेपाली भूभागबाट उत्पत्ति, प्रयोग र विकास हुँदै आएको योग आज विश्वव्यापी भएको जनाउँदै यसले नेपालको इतिहास, सभ्यता र गौरवलाई झल्काउने बताए । “व्यायाम, प्रणायम र ध्यान मिलेपछि पूर्ण योग बन्छ र यी चिजको योगबाट शरीरलाई स्वस्थ्य रहन योगदान गर्दछ”, प्रधानमन्त्री ओलीले भने, “मानव जातिको सर्वाेपरी आकाङ्क्षा पूरा गर्ने अभियानमा हामी लागिरहेका छौँ ।
मानव हुनुको सार्थकता र कर्तव्य पूरा गरौँ । हामी ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने सङ्कल्पमा छौँ ।” प्रधानमन्त्री ओलीले नेपालको उर्वर, जीवनमय र औषधिमय प्रकृति भए पनि नेपाल गरिबीमा परेको कुरा अब स्वीकार्य नहुने भन्दै यसलाई अब बदल्नुपर्छ बदल्न सकिन्छ भने । उनले भने, “समृद्धिका गन्तव्यमा पुग्ने आधारसहितको सङ्कल्प हामीसँग छ ।