लघुकथा : सोच

लघुकथा : सोच

सुशीला शर्मा

नीलिमा एउटा प्रतिष्ठित बैङ्कमा म्यानेजर छिन् । प्राइभेट बैङ्कको जागिर खटाइ निकै छ एकातिर भने अर्कातिर आफ्नो पारिवारिक जीवन पनि छ । एकाबिहानै उठ्नु, नित्यकर्म गर्नु, खाना बनाउनु बच्चालाई दिउँसोको खाजा ठिक पारिदिनु, श्रीमान्, बच्चाहरू र आफूले पनि खाना खाइवरि छिटो-छिटो तयार भएर समयमै अफिस पुग्नु उनको दैनिकी छ । दङ्ग पर्छन् देख्नेहरू उनको दैनिकी देखेर ।

अफिसमा कस्टमरसँग कुरा गरिरहेको बेलामा फोनको घण्टी बज्छ । हेड अफिसबाट आएको फोन रहेछ । `नीलिमाजी त्यहाँको एक अफिसमा ठूलो परियोजना आएको रहेछ हाम्रो बैङ्कमा कारोवार गर्न लगाउनु पर्‍यो, परियोजना प्रमुखलाई भेटेर छिटो कुरा अगाडि बढाउनुहोला ।´

हेड अफिसबाट आएको फोनको आधारमा भोलिपल्ट उनी र एकजना कर्मचारी भएर सँगै जान्छन् ।

नीलिमा र उनका कर्मचारी आफूहरू आउनुको उद्देश्य सँगसँगै बैङ्कको अनेक स्किमको बारेमा बताउँछन् र परियोजनाको बैङ्किङ कारोबार आफ्नो बैङ्कमार्फत गर्नका लागि अनुरोध गर्छन् ।

“बैठक बसेर निर्णय गर्नुपर्छ ,पछि खबर गरौँला ।” भन्दै प्रमुखले बिदा हुन खोज्दै गर्दा नीलिमासँगै गएका पुरुष कर्मचारीतर्फ इङ्गित गर्दै सोध्छन्- “म्यानेजर तपाईं ?”
पुरुष कर्मचारी अप्ठ्यारो मान्दै भन्छन् “म होइन उहाँ म्याडम हुनुहुन्छ, हाम्रो म्यानेजर !”
यो सुनेर अट्टहास हाँसो हाँस्छन् ती हाकिम सा´ब ।

व्यास नगरपालिका-४, दमौली तनहुँ
(२०७७/०३/ ०३)