कोरोनाले १८ जनाको मृत्यु, सङ्क्रमितको संख्या ५ हजार ३ सय ३५ पुग्यो

कोरोनाले १८ जनाको मृत्यु, सङ्क्रमितको संख्या ५ हजार ३ सय ३५ पुग्यो

काठमाडौं, ३१ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाराका एक पाँच वर्षे बालक र अर्का बेवारिसे अवस्थामा मृत फेला परेको पुरुषको पुरुषको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेको हो ।

बाराका ५ बर्षक बालकको विरगञ्जमा उपचारका क्रममा हिजो मृत्यु भएको हो । ज्यान गुमाएका उनीहरु दुबै जनाको नारायणी अस्पताल वीरगञ्जमा गरिएको स्वाव परीक्षणमा नतिजा पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको हो ।

यसैबीच, पछिल्लो २४ घण्टामा थप २७३ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित जानकारीका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड १९ पुष्टि भएका व्यक्तिको संख्या ५ हजार ३३५ पुगेको जानकारी दिनुभएको हो ।

डा. गौतमका अनुसार नयाँ थपिएका सङ्क्रमितमध्ये २ सय ४७ जना पुरुष र ३६ जना महिला रहेका छन् । डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ९१३ पुगेको छ ।