काठमाडौँ, २८ जेठ । आज बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन खुकुलो पार्ने मोडालिटी तय गरेको छ । यसै अन्तर्गत भोलिदेखि पसल खोल्ने दिने र सवारी साधनलाई पनि जोर बिजोरका आधारमा सुचारु हुन दिने निर्णय भएको एक मन्त्रीले बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार राति सम्पन्न मन्त्रिपरिषद्को बैठकले जनजीवन सहज बनाउन पसल खोल्न दिने र सवारी साधन सुचारु गर्ने निर्णय गरेको हो । स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरेर कृषि, उद्योग, ब्यापारमा खुकुलो गर्ने बताइएको छ । सवारी साधनहरु भने जोरबिजोर प्रणालीमा संचालन हुनेछन् । लामो दुरीका सवारीलाई भने अहिले अनुमति नदिइने भएको छ ।
निजी सवारी साधन जोर बिजोर गरेर चल्न दिने निर्णय भए पनि सार्वजनिक सवारी साधन पनि चल्न पाउने छैनन् । जोरविजोर लागू भएपछि जोर गतेका दिन जोर नम्बर प्लेटका गाडी चलाउन मिल्नेछ भने विजोर गतेका दिन विजोर नम्बरका गाडी गुड्ने छन्।
सरकारले पहिलोपटक चैत ११ देखि शुरु गरेको लकडाउन विभिन्न चरणहरु गर्दै अन्तिम पटक जेठ ३२ गतेसम्म समय थप गरेको थियो ।