काठमाडौं, २८ जेठ । आज जुन १० तारिख नेपालमा प्रायः मनसुन सुरु हुने दिन हो । तर, यसपाली भो बर्षा सुरु हुन केही दिन लाग्ने भएको छ ।
मौसम पूर्वानुमान महाशाखाकाअनुसार नेपालमा सामान्यतया जुन १० तारिखमा मनसुन सुरु हुने गरेको भए पनि यसपटक १ हप्ताभित्र मनसुन सुरु हुने अनुमान रहेको छ । मनसुन सुरु हुनाका लागि नेपालको पूर्वी भूभागमा दक्षिण–पूर्वी हावा चल्नुपर्ने भएकोले मनसुन शुरु हुन एक हप्ता लाग्ने भएको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाले यस वर्ष औसत वर्षा हुने अनुमान गरेको छ ।
यसैबीच आज कर्णाली, गण्डकी र वागमती प्रदेशमा बदली भएको छ भने थोरै स्थानमा हल्का वर्षा पनि भइरहेको छ । आज दिउँसो प्रदेश १, वागमती, गण्डकी प्रदेशमा सामान्य बदली भई थोरै स्थानमा क्षणिक वर्षाको सम्भावना छ । प्रदेश २ का पनि एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।