काठमाडौं, २७ जेठ । कोरोना भाइरस (कोभिड –१९) को कारण उत्पन्न परिस्थितिको सम्बन्धमा अनुगमन गर्न नेपाली कांग्रेसले पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतको संयोजकत्वमा समिति गठन गरेको छ ।
सोमबार पार्टी मुख्यालय सानेपामा पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सरकारले लकडाउन गर्ने बाहेकका कुनै पनि काम गर्न नसकेको ठहर गरेको छ ।
उक्त बैठकले सरकार कोरोना भाइरस नियन्त्रणमा पुर्नरुपमा असफल भएको निष्कर्ष निकाल्दै अहिलेको परिस्थिति के छ भनेर अनुगमन गर्न डा। महतको नेतृत्वमा अनुगमन समिति बनाएको छ ।
बैठकले कोभिड –१९ को महामारी नियन्त्रण गर्न, यसका अल्पकालीन र दीर्घकालीन नकारात्मक प्रभाव न्यून गर्न तथा जनताको सरोकार र आवश्यकताका विषयलाई सम्बोधन गराउन सरकारले तत्काल चाल्नुपर्ने कदमका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन पार्टीका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा प्रतिनिधिमण्डल पठाउने निर्णय गरेको छ ।